गृहपृष्ठ दैजी छेला औद्योगिक क्षेत्र : उत्साह पनि, आशंका पनि
दैजी छेला औद्योगिक क्षेत्र : उत्साह पनि, आशंका पनि
सुदूरपश्चिम प्रदेशकै पहिलो औद्योगिक क्षेत्रको गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा उपस्थित स्थानीयवासीले कार्यक्रमस्थल भरिएका थिए । लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको आश्वासन सुन्दै आएका स्थानीयवासीमा केही आशा त पलायो तर भनेअनुसार चाँडै काम सुरु भइहाल्ला भन्नेमा उनीहरु विश्वस्त छैनन् ।
आर्थिक रुपले विपन्न र मुक्त कमैयाको बसोबास रहेको दैजी छेला औद्योगिक क्षेत्र विस्तार क्षेत्रमा उद्योगहरु सञ्चालनमा आएमा स्थानीयस्तरमै रोजगारीदेखि गाउँको मुहार नै फेरिनेमा स्थानीयहरु आशावादी छन् । २०५२ सालमा वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भए पनि निर्माणको चर्चा २०७२ सालदेखि मात्र हुन थालेको हो । स्थानीय तथा संघीय सरकारको पहलमा औद्योगिक क्षेत्रको शिलान्यास भएसँगै स्थानीयको जनजीवनमा केही परिवर्तन आउने अपेक्षा बढेको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका २ का बृखराज पन्तले औधोगिक क्षेत्रको शिलान्यास भएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘२५ वर्षअघि घोषणा गरिए पनि हालसम्म शिलान्यासको सुरसारै नहुँदा हामी निराश थियौँ । बल्ल शिलान्यास भयो अब केही आश पलाएको छ ।’ औद्योगिक क्षेत्रलाई शिलान्यासमा मात्रै सीमित नराखी अब यसको निर्माण कार्यले तीव्रता पाउनुपर्ने उनको माग छ ।
अबका सन्ततिले मजदूरीका लागि अरूको शरणमा जानुपर्ने दिन समाप्त हुने स्थानीयहरुको आशा छ । औद्योगिक क्षेत्र सञ्चालनमा आए यहाँको दैनिकीमै ठूलो परिवर्तन हुनेमा उनीहरु आशावादी छन् । उद्योगहरु सञ्चालमा आइसकेपछि रोजगारीमा स्थानीयलाई प्राथमिकतामा राख्नुपर्ने स्थानियको माग छ । वेदकोट नगरपालिका– २ कै राजेन्द्र पन्तले पनि औद्योगिक क्षेत्र शिलान्यास भएकोप्रति खुशी प्रकट गरे । ‘अब यसै क्षेत्रमा रोजगारी सिर्जना हुन्छ भन्नेमा आस जागेको छ । हामीलाई धेरै कुरामा राहत हुने विश्वास लिएका छौं,’ उनले भने । औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि रोजगारीका लागि स्थानीयलाई प्राथमिकतामा राख्नुपर्ने उनले पनि माग राखे ।
२५ वर्षदेखि चर्चा चलेको यस औधोगिक क्षेत्र शिलान्यास हुँदा स्थानीयमा खुशीयाली जति छायो, उति नै आशंका पनि छ । शिलान्यास हुने तर वर्षौँसम्म काम सुरु नै नभएका कतिपय आयोजनाहरुको अवस्था देखेका स्थानीयले दैजी छेला औद्योगिक क्षेत्रको त्यो हालत नहोस् भन्ने चाहेका छन् । त्यसैले, काम पनि चाँडो सुरु गर्नुपर्ने उनीहरु एकमत छन् । वेदकोटकै स्थानीय देव लुहारले पनि औद्योगिक क्षेत्रको अवस्था शिलान्यासमै मात्र सीमित नहोस् भन्ने कामना गरे । ‘जनतालाई ठग्नका लागि यो शिलान्यासको नाटक हो भने हामी स्वीकार्दैनौं । जनताको मागलाई साँच्चै सम्बोधन गर्न चाहेको हो भने काम पनि चाँडै थालियोस्,’ उनले भने ।
औद्योगिक क्षेत्रका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भइसकेको छ । सरकारले घोषणा गरेको १४ वर्षपछि २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपश्चात् यहाँको वेदकोट सामुदायिक र जनचेतना सामुदायिक वनको ९ सय विगाह जग्गा औद्योगिक क्षेत्रका लागि दिने निर्णय भएको थियो । औद्योगिक क्षेत्रको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए)को कामसमेत सम्पन्न भइसकेको छ । ईआइएपश्चात् कार्यस्थलमा आएर ‘भेरिफाई’ गरेर मात्रै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भोगाधिकारका लागि जानेछ ।
प्रकाशित समय : ००:१४ बजे



















