अदुवाको भाउ घटेपछि किसान निराश
वि.सं.२०७७ फागुन १२ बुधवार १३:३५
shares

अदुवाको भाउ घटेसँगै इलामका किसानमा निरासा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) ६ हजार रुपैयाँसम्ममा बिक्री भएको अदुवा यो वर्ष प्रतिमन एक हजारमात्र भएपछि किसान निरास भएका हुन् ।
गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यो वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन, बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेख्य थियो । भारतीय बजारमा अदुवा सस्तिएसँगै भाउ कम भएको हो ।
गत वर्ष अदुवाले मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सधैँको भन्दा धेरै खेती गरेका थिए । यो वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको उनले बताए ।
अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन सकिएको छैन । यहाँ उत्पादन हुने ठूलो परिमाण अदुवा भारत निकासी हुन्छ ।
अन्य खेती विस्थापित गरेर अदुवाखेती लगाए पनि श्रम मूल्य नपाउँदा निराश हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउँछन् ।
अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवाखेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ ।
गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउँछन् । (रासस)

























