गृहपृष्ठ पाँच सय सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा वितरण
पाँच सय सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा वितरण
जुनिचाँदे गाउँपालिकाले पाँच सयभन्दा बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । 'सुत्केरी आमासँग उपाध्यक्ष' कार्यक्रमअन्तर्गत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि एक हजार ५००, तोरीको तेलका लागि ५०० र बच्चाको न्यानो कपडा किन्नका लागि ५०० गरी दुई हजार ५०० रुपैयाँका दरले रकम वितरण गर्ने गरेको गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले जानकारी दिइन् ।
सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनका लागि गत आर्थिक वर्षमा १४ लाख ६९ हजार विनियोजन गरेको गाउँपालिकाले ५८८ सुत्केरीलाई रकम वितरण गरेको आचार्यले बताइन् । पोषणको मात्रा नपुग्दा आमा र शिशुको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ ।
थोरै भए पनि आमा र नवजात शिशुको पोषणमा सहयोग पुगोस् भनेर सुत्केरी महिलालाई सहयोग गर्ने गरिएको हो । यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको कावा अध्यक्ष आचार्यले बताइन् ।
उनले गाउँपालिका मातहतका स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखासँग समन्वय गरेर महिला तथा बालबालिकाको पोषण सुधार, स्वास्थ्य सेवा सुविधामा पहुँच वृद्धि तथा विस्तार, सरसफाइ र चेतनाको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् । (रासस)
प्रकाशित समय : १३:४६ बजे