वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सात महिनामा उपभोक्ता ठग्ने ६८४ व्यवसायीलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्ष २०७७/७८ को माघसम्ममा २ हजार १५१ व्यवसायको अनुगमन गर्दा कानुनविपरीत सञ्चालित ६८४ व्यवसायीलाई कारबाही गरेको हो ।
विभागले ६८४ व्यवसायीलाई १ करोड ७६ लाख ९७ हजार रुपैयाँबराबर जरिवाना तिराएको छ भने १ हजार १०१ व्यवसायीलाई सामान्य सुधार गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । विभागले अनुगमन गरेका फर्महरुमध्ये ६४ व्यवसाय सामान्य अवस्थामा पाएको छ ।
त्यस्तै २५८ वटा व्यवसायलाई अनुगमनपछि आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न बोलाएको विभागले जनाएको छ । माघसम्म उपभोक्ता ठग्ने १९ जना व्यक्ति वा साधनलाई नियन्त्रणमा लिइएको छ । विभागले २९ व्यवसायमा भने अनुगमनपछि तत्काल सिलबन्दी गरेको छ । तीन जनालाई अभियोजनमा लगिएको छ । विभागले सात महिनामा ३ करोड ७० लाख २६ हजार ४२८ रुपैयाँबराबरको खाना अयोग्य वा म्याद सकिएको सामान नष्ट गर्न लगाएको छ ।
लकडाउनकै बीच बदमासी
व्यवसायीले लकडाउनकै बीच पनि उपभोक्ता ठगी गरेका छन् । साउनदेखि असोजसम्म उपभोक्ता ठग्ने १३७ व्यवसायीलाई ७८ लाख ५७ हजार रुपैयाँबराबर जरिवाना गराएको विभागले जनाएको छ ।
तीन महिनामा ८०१ व्यवसाय अनुगमन गर्दा १३७ व्यवसायी कारबाहीमा परेका छन् भने ६२ सामान्य अवस्थाको पाइएको छ । त्यस्तै ४८४ व्यवसायलाई सामान्य सुधार गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । विभागले ९८ हजार ७२२ रुपैयाँबराबरको सामान तत्कालै नष्ट गरेको छ ।
यसबाहेक १०४ वटा व्यवसायलाई आवश्यक कागजात पेस गर्न बोलाएको, नौवटा व्यवसायबाट परीक्षणका लागि वस्तुको नमुना लिएको, २२ वटा व्यवसाय सिलबन्दी गरेको, ६ जना व्यक्ति वा साधन नियन्त्रणमा लिएको र एउटा व्यवसायलाई अभियोजनमा लगिएको छ ।
कात्तिकमा १७७ व्यवसायीमाथि कारबाही
विभागले कात्तिकमा उपभोक्ता ठग्ने १७७ व्यवसायीलाई ३९ लाख ६२ हजार जरिवाना तिराएको छ । कात्तिकमा ३६८ वटा व्यवसाय अनुगमन गर्दा एउटा पनि व्यवसाय सामान्य अवस्थामा नपाएको विभागले जनाएको छ । अनुगमनमा परेका व्यवसायीमध्ये १५८ व्यवसायलाई तत्काल सुधार गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।
त्यस्तै विभागले ५९ लाख ५७ हजार ३३६ रुपैयाँबराबरको खाना अयोग्य वा म्याद सकिएको सामान तत्काल नष्ट गर्न लगाएको छ । यसबाहेक विभागले १२ व्यवसायीलाई आवश्यक कागजात पेस गर्न बोलाएको, ६ वटा व्यवसायीलाई सिलबन्दी गरेको र दुईवटा व्यवसायलाई अभियोजनमा ल्याएको छ ।
मंसिरमा केही कम
विभागले मंसिरमा उपभोक्ता ठग्ने १०४ व्यवसायीलाई १७ लाख ७८ हजार जरिवाना तिराएको छ । मंसिरमा ३३७ व्यवसायको अनुगमन गर्दा १०४ व्यवसायी कारबाहीमा परेका छन् भने एउटा व्यवसायलाई सामान्य अवस्थामा पाएको विभागले जानकारी दिएको छ ।
मंसिरमा गरिएको अनुगमनमा विभागले १९० व्यवसायीलाई तत्काल सुधार गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ भने ४० वटालाई आवश्यक कारबाहीको लागि बोलाएको छ । त्यस्तै ३ करोड ५ लाख १५ हजार १५४ रुपैयाँबराबरको सामान तत्कालै नष्ट गर्न लगाइएको छ ।
पुसमा ठगीको अवस्था उस्तै
पुसमा विभागले ३५१ व्यवसायको अनुगमन गर्दा १०९ कारबाहीमा परेका छन् । विभागले १०९ व्यवसायीलाई १३ लाख ७४ हजार रुपैयाँबराबरको जरिवाना तिराएको छ ।
पुसमा १६८ व्यससायीलाई तत्काल सुधार गरी व्यवसाय सञ्चालन गर्न, ६६ व्यवसायीलाई आवश्यक कागजात पेस गर्न, ६ व्यवसायीलाई परीक्षणको लागि वस्तुको नमुना लिएको, एक व्यवसाय सिलबन्दी गरेको र १ लाख ३३ हजार १५ रुपैयाँबराबरको सामान नष्ट गरिएको छ ।
माघमा बदमासी बढ्यो
माघमा उपभोक्ता ठग्ने १५७ व्यवसायीलाई विभागले २७ लाख २६ हजार रुपैयाँबराबर जरिवना तिराएको छ । माघमा २९४ व्यवसायमा गरिएको अनुगमनमा १५७ व्यवसायी विभागको कारबाहीमा परेका हुन् । विभागले माघमा एउटा पनि व्यवसाय सामान्य अवस्थामा नभेटेको जनाएको छ ।
माघमा १०१ व्यवसायलाई तत्काल सुधार गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको, ३६ व्यवसायलाई आवश्यक कागजात पेस गर्न बोलाएको र ३ लाख २२ हजार ४१ रुपैयाँबराबरको सामान तत्कालै नष्ट गरेको छ ।