गृहपृष्ठ नर्भिक अस्पतालको नयाँ ओपीडी सञ्चालनमा
नर्भिक अस्पतालको नयाँ ओपीडी सञ्चालनमा
नर्भिक इन्टरनेशनल अस्पतालले आइतबारबाट नयाँ आउट पेसेन्ट डिपार्टमेन्ट(ओपीडी)को औपचारिक रुपमा सुरूवात गरेको छ । अस्पतालले पुरानो ओपीडीलाई पुनर्निर्माण गरी नयाँ डिजिटाइज्ड ओपीडी सञ्चालनमा ल्याएको हो ।
अत्याधुनिक ओपीडीमा पहिलाभन्दा अझ स्तरीय सेवा, सबै सेवाको पूर्ण डिजिटाइजेसन, स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजिटाइज्ड गरी अत्याधुनिक बनाउने कामको सुरुवात गरेको अस्पतालका प्रवन्ध निर्देशक मेघा चौधरीले बताइन् । उनले भनिन्, ‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले कोरोना महामारीले आर्थिक मन्दी ल्याएको बेलामा पनि बिरामीको हितलाई सर्वोपरि मान्दै यो काम गरेका हौँ ।’
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले देशकै स्तरीय अस्पताललाई अझ स्तरीय बनाइराख्न समयको मागअनुसार पुनर्निर्माण गरिएको प्रष्ट पारे । उनले बिरामीको सुविधाका लागि नर्भिक पहिलो प्राथमिकता रहेकाले उनीहरुको सहजताको लागि आफूहरु सदैव कटिबद्ध रहने बताए । अत्याधुनिक ओपीडीमा बिरामीहरुले पट्यारलाग्दो ढंगले पालो कुरिरहनु पर्ने समस्याको अन्त्य हुने अस्पतालको दाबी छ । आरामदायी ढंगले वातावारण अनुकुल र स्तरीय प्रतिक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित सूचना डिजिटल डिस्प्लेमा हेर्दै पालो कुरेर बसे पुग्ने भएको छ ।
पूर्ण डिजिटाइज्ड सेवा दिने उद्देश्यले आफ्नै मोबाइल एप्स निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ । जुन एप्सबाट बिरामीले अस्पतालमा नगएर एप्सबाटै बुकिङ तथा बिल भुक्तानी गर्न सक्नेछन् ।
प्रकाशित समय : २३:२५ बजे



















