global ime bank Long Banner Ad

गृहपृष्ठ झापामा एकै दिन पाँचवटा बीओपीको उद्घाटन

झापामा एकै दिन पाँचवटा बीओपीको उद्घाटन

झापामा एकै दिन पाँचवटा बीओपीको उद्घाटन

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आइतबार एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बीओपी) उद्घाटन गरिएको छ ।  पाँचवटै बीओपीको मेचीनगर नगरपालिका- ५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मेचीनगर- १ स्थित तिरिङ, भद्रपुर- ३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बीओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो । यीसँगै जिल्लामा बीओपीको संख्या १७ पुगेको छ । एउटा बीओपीमा इन्स्पेक्टरको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको डीआइजी दाहालले बताए । 

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी  भद्रपुर  र पृथ्वीनगर गरी कुल १२ वटा सशस्त्र प्रहरीको बीओपी स्थापना गरी सकिएको छ । उनले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बीओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिए । 

नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले चौकी स्थापना भएसँगै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सीमाको सुरक्षा र अवैध चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनीहरुले बिओपीमा आवश्यक पर्ने भौतिक तथा अन्य संरचना निर्माणमा नगरले आर्थिक सहयोग गर्ने बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाको १४४ दशमलव दुई किलोमिटर क्षेत्रफलमा भारतसँगको खुला सीमा रहेकाले हातहतियार, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक गतिविधि न्यूनीकरण हुने, सीमाको उचित रेखदेख  र राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने काममा बीओपीहरुको महत्वपूर्ण योगदान रहने बताए । सीमा सुरक्षालाई ध्यानमा राखी संघीय सरकारले २०७६ मंसिर ३० गते नै देशभरिमा ११४ वटा बीओपी थप्ने निर्णय गरेको थियो । सोहीअनुरुप नै जिल्लामा कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेटक्वार्टर चन्द्रगढीका  एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

प्रकाशित समय : २३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु