साइन रेसुंगाद्वारा ई-रिक्सालाई क्यूआर कोड हस्तान्तरण
वि.सं.२०७७ फागुन ७ शुक्रवार १३:००
shares

साइन रेसुंगा डेभलपमेन्ट बैंकले क्यूआर कोडबाट ई-रिक्साको भाडा भुक्तानी सुरु गरेको छ । बैंकले बिहीबार नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालको उपस्थितिमा ई-रिक्सा संघमा आबद्ध ई-रिक्सालाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।
क्यूआर कोड हस्तान्तरण कार्यक्रममा डिजिटल बैँकिङको आवश्यकता र महत्वबारे प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनुपर्ने धारणा राखे । ई-रिक्सा चालक संघ सिद्धार्थनगरका अध्यक्ष हरिबहादुर नेपालीले डिजिटल कारोबारले आफूहरुलाई पनि उत्साहित बनाएको बताए ।
डिजिटल बैंकिङको अवधारणअनुरुप साइन रेसुंगा डेभलपमेन्ट बैंकको सालझण्डी शाखाले ई-रिक्सा, फलफूल तथा तरकारी पसललाई क्यूआर कोड वितरण गरेको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैँकिङ डिजिटाइजेसनतर्फ अग्रसर भइसकेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने बताए । साइन रेसुंगाले पनि डिजिटल सेवा निरन्तर विस्तार गर्दै ग्राहकमैत्री बन्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

























