nmb bank

गृहपृष्ठ पर्यटकको आगमन शुरु, सन् २०१८ उच्चस्तरीय भ्रमण वर्ष : मन्त्री ज्ञवाली

पर्यटकको आगमन शुरु, सन् २०१८ उच्चस्तरीय भ्रमण वर्ष : मन्त्री ज्ञवाली

पर्यटकको आगमन शुरु, सन् २०१८ उच्चस्तरीय भ्रमण वर्ष : मन्त्री ज्ञवाली


ज्ञानेन्द्र न्यौपाने । रसुवा । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्गत पर्यटकको आगमन हुन थालेको छ । पर्यटनका लागि पहिलो याम असोजदेखि मंसिर र दोस्रो याम फागुनदेखि वैशाखसम्म मानिन्छ ।
फाटफुट रुपमा भए पनि बाह्रै महिना पर्यटक आउने गरेका कारण हिमाली जिल्ला रसुवामा चहलपहल देखिन्छ । पर्यटकको आगमन निरन्तर भएका कारण चालु आवको साउनदेखि अहिलेसम्म करीव रु दुई करोड २० लाख राजश्व प्राप्त भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । फागुनदेखि वैशाखसम्मको मौसममा भने दैनिक १०० जनाभन्दा बढीले ओहोरदोहोर गर्ने अपेक्षा गरिएको बताइएको छ ।
चालु आवको साउनदेखि अहिलेसम्म कूल हजार ५३९ जनाको आगमन भएकामा सार्क राष्ट्रका ११९ र अमेरिका, जापान, जर्मनी, फ्रान्स, इजरायललगायत देशका छ हजार ४२० जना पर्यटकको आगमन भएको राष्ट्रिय निकुञ्ज कार्यालयका नायब सुब्बा तिलकुमारी अधिकारीले बताए । गत आवमा भने ११ हजार ६८ पर्यटकले भ्रमण गरेको बताइएको छ । भूकम्पपछि क्षतिग्रस्त होटल र लज पुनःनिर्माण भइसकेकाले हिमाली पदयात्रीलाई खान, बस्न यथेष्ट सुविधा भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए । यहाँका पर्यटकीय क्षेत्रमा लाङटाङ (३,९००मी), यालापिक, लाङटाङ लिरुङ (७,२००), गणेश हिमाल, गोसाइँकुण्ड (४,३००), तामाङ सम्पदा मार्ग, पार्वतीकुण्ड (२,४०० मि) नागथली, लौरीविनायक आदि छन् ।
यसैबीच, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गरे । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई आमन्त्रण गर्ने गृहकार्य अब छिट्टै शुरु हुन्छ, चिनियाँ राष्ट्रपति पिङलाई सन् २०१६ मै निमन्त्रणा गरिएको थियो, सरकार परिवर्तन भएका कारण उहाँको भ्रमण हुनसकेन, यसपटक अमेरिका, बेलायत, जापानलगायत राष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण गराइनेछ,’ उनले भने ।
गत महिना पाकिस्तानी प्रधानमन्त्रीले गर्नुभएको भ्रमण सद्भाव र रोकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन गर्ने विषयमा केन्द्रित भएको मन्त्री ज्ञवालीले बताए । गम्भीर मानवीय संकट उत्पन्न हुने गरी सिरियामा शक्ति राष्ट्रको स्वार्थका कारण भएको युद्धमा बालबालिकासमेत शिकार बनेकाले युद्धविराम हुनुपर्ने सरकारी धारणा पनि उनले सार्वजनिक गरे । ‘संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपालले पु¥याएको योगदान अनुसार पहुँच पुग्नसकेको छैन, शान्ति सेना पठाउने देशमा नेपाल छैटौँ, सातौँमा पर्छ, त्यस अनुसारको भूमिकाका लागि मेरो कार्यकालमा यसलाई उठाउने प्रयास गर्नेछु,’ मन्त्री ज्ञवालीले भने ।

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु