nmb bank

गृहपृष्ठ लिङ्ग पहिचानलाई चुनौती : ‘छोरीले दिए अभूतपूर्व आनन्द, छोरा नभए पनि छैन गुनासो’

लिङ्ग पहिचानलाई चुनौती : ‘छोरीले दिए अभूतपूर्व आनन्द, छोरा नभए पनि छैन गुनासो’

लिङ्ग पहिचानलाई चुनौती : ‘छोरीले दिए अभूतपूर्व आनन्द, छोरा नभए पनि छैन गुनासो’


रेनुका गिरी । बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ योगीकुटीकी पुष्पा शर्मालाई अहिले जस्तो लाग्छ, छोरीछोरी मात्रै भए भनेर सबैले हेलाँ गरेका दिन । उनले विगत सम्झिँदै भनिन्, ‘मेरा श्रीमान बाबुआमाको एउटा मात्र छोरा हुनुहुन्थ्यो । हाम्रो परिवारमा छोरी मात्रै, यसले छोरा जन्माउन सकिन सम्पत्ति अपुताली पर्ने भयो भनेर दाजुभाई र आफन्तले कुरा काट्थे ।’ ज्वाईंले अर्को विहे गर्लान् भन्ने चिन्ताले आमालाई पनि सताइरहन्थ्यो । र, बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘एउटासम्म विचार गर ।’ यस्ता कुराले पुष्पाको मन त खिन्न हुन्थ्यो नै । तर मैले तेस्रो सन्तान जन्माउन्न भन्ने अडान लिए ।
अहिले पुष्पा र उनका श्रीमान छोरी भएकोमा खुशी छन् । पहिले छोरी भएकोमा हेलाहोचो गर्नेलाई पनि उनका छोरीहरुको पौरख देखेर जवाफ मिलेको छ । उनीहरुका एक छोरी रक्षा शर्माले अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीबाट बिएस्सी नर्सिङ्ग गरेकी छन् । हाल अष्ट्रेलियामै बस्ने छोरीसँगै पुष्पाको परिवारले ३ वटा देश घुम्ने मौका पाएको छ । ‘पढाइमा अघि बढ्न छोरीलाई लगानी गर्न सक्यो भने उनीहरुले पनि राम्रो सफलता हासिल गर्न सक्छन भन्ने लाग्यो,’ उनले भनिन् । पुष्पाका श्रीमान नुमादत्त अधिकारी पनि छोरीको सफलताले दंग छन् । पुष्पालाई अहिले लाग्छ, ‘छोरा र छोरीबीचको विभेद मान्छेले बनाएको हो ।
उनको अनुभवमा छोरी अर्काको घर जाने जात, आफैं केही गर्न सक्दैनन् भन्नेका लागि आफ्ना छोरीहरु उदाहरण बनेका छन् ।’ छोरीहरुलाई पनि अवसर दिएर अघि बढ्न प्रेरण दिए सक्षम छन् भन्ने पुष्पाको भनाइ छ । बाबुआमाको हेरचाह गर्ने, पालनपोषण गर्ने बुढेसकालको सहारा र मरेपछि किरिया गर्न छोरा नै चाहिन्छ भन्ने मान्यता समाज छ । तर पुष्पाको दम्पती यो मान्यतामा पनि विश्वास राख्दैनन् । पुष्पा भन्छिन्, ‘हामीलाई केही भएमा हाम्रा छोरीहरुले जे जानेका छन् त्यही गरुन्, छोरीबाहेक अरुबाट काज क्रिया नगराउन भन्ने हाम्रो चाहाना छ ।’ पुष्पाजस्तै छोरी भएर खुशी रहने परिवार अरु पनि छन् । समयसँगै विस्तारै मानिसको सोचाइमा पनि परिवर्तन आउने क्रम बढ्दो छ ।
बुटवल उपमहानगरपालिका–५ राधाकृष्ण पथकी ऋतु गौतम (४२) पनि ३ छोरीकी आमा हुन् । उनका २१, २० र १७ वर्षका छोरी छन् । तर छोरा नपाएकोमा कत्ति पनि खिन्न छैनन् । ऋतुकी जेठी र माहिली छोरीले स्नातक गरेका छन् । दुबै शिक्षिका हुन् । कान्छी छोरी ल्याब टेक्निसियन छिन् । उनका श्रीमान सिलाई ब्यवसाय गर्छन् । छोरीहरुकै सयोगमा उनले पाल्पाको तानसेनमा घर घडेरी जोडेकी छन् । विगत सम्झदै ऋतु भन्छिन्, ‘मेरो देवरहरुले छोरी मात्र भएको भएर मलाइ हेप्नु हुन्थ्यो । वंश राख्नुपर्छ छोरी मात्रै भाको अपुताली हुन्छ भन्ने जस्ता शव्दहरु प्रयोग हुन्थे ।’ उनले भनिन्, ‘छोराले गर्ने त केही होइन तर हाम्रो समाजले छोरी मात्र हुने परिवारलाई हेर्ने दृष्टिकोण कमजोर छ ।’
आफू जागिरे, श्रीमानले पनि साथ दिंदा छोरीमै चित्त बुझाउन सहज पनि भयो । तर छोरीले कसो गर्लान् भन्ने चिन्ता भने मनमा छँदैथियो । तैपनि मनले हरेश खाएन । उनको भरोसालाई छोरीहरुले पनि लगनका साथ अघि बढाए । ऋतुलाई अहिले लाग्छ परिवारले छोरा र छोरीमा गर्ने भेदभावमा केही कमी आएको छ । तर कुल र वंशका नाममा छोरा जन्माउनैपर्छ भन्ने मान्यता भने नघटेको उनको अनुभूति छ । समाजमा छोरालाई बढी महत्व दिएकै कारण महिलाले घर परिवारबाट विभिन्न किसिमका हिंसा भोग्न बाध्य छन् । कतिले त छोरी भए गर्भ नै नराख्ने मनशायका साथ अस्पताल धाउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारको अनुभवले पनि यही भन्छ ।
‘लिङ्ग पहिचान गर्न चाहेको भएपनि त्यसो गर्दा लैङ्गिक हिंसा हुने भन्दै हाम्रो अस्पतालले लिङ्ग पहिचान गर्न दिँदैन,’ उनले भने । सोही अस्पतालका पब्लिक हेल्थ नर्स निरमाया केसीका अनुसार यहाँ परामर्श गर्न आउने दुईतिहाइ भन्दा धेरै मानिसले छोरालाई प्राथमिकता दिने गरेका छन् । गर्भमा बच्चा (छोरी) चलिसकेको अवस्थामा पनि गर्भपतन गराउन चाहनेहरुलाई कार्यालयका तर्फबाट आफूहरुले परामर्श दिएर पठाउने गरेको उनले बताइन् । अनमी रेनु गिरीले छोरी जन्माउने महिलाहरु अस्पतालमै मन खिन्न बनाउने, रुने, अस्पतालमै सासु ससुराले हेप्ने, श्रीमानले विभिन्न यातना दिने गरेको पीडा पोख्ने गरेको अनुभव सुनाइन् ।
जनस्वास्थ्य कार्यालयको तथ्याङ्क हेनै हो भने आर्थिक वर्ष २०७२/०७३ मा ३ हजार १८८ जनाले गर्भपतनको सुविधा लिएका थिए । यो क्रम हरेक वर्ष बढ्दो छ । आर्थिक वर्ष २०७३/०७४ मा यो संख्या बढेर ३ हजार ८३५ पुगेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलको तथ्याङ्कले पनि यस्तै सन्देश दिन्छ । अञ्चल अस्पतालमा गत वर्ष गर्भपतनको सुविधा लिनेका संख्या झण्डै ७ सयको हाराहारीमा छ । निजी अस्पताल र क्लिनकहरुको हिसाव गर्दा अझ धेरै देखिन्छ । लिंग पहिचान गरी गर्भपतन गराउनु गैरकानुनी भए पनि लुकीचोरी यो बाटो समाउनेको कमी छैन । छोरा जन्माउन धेरै बच्चा जन्माउने, गर्भपतन गराउनाले महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको चिकित्सकहरुको भनाइ छ ।
तर छोरा मोहमा नलागेर सन्तानमा विभेद नगर्ने बाबुआमाको संख्या पनि बढ्दो छ । यससँगै छोरीले पनि आफ्नो कर्तव्य पुरा गरेर देखाएका छन् । यस्तै मध्येमा पर्छन् । रुपन्देही तिलोत्तमा नगरपालीका–१ शंकरनगरी कृष्णा भट्टराई (४२) का एक मात्र छोरी छन् । ‘गाँउ समाजमा के भन्छन हामीले केहि मतलव गरेनौं,’ उनी भन्छिन्, ‘भन्न त भन्छन् होला तर श्रीमान श्रीमतीको समझदारीमा हामी खुसी छौं ।’ उनका श्रीमान अस्मिन भट्टराई (५०) थप्छन्, ‘समय धेरै परिष्कृत भैसकेको छ । हामी पनि समय अनुसार चल्न सिक्नुपर्छ । हामी पढेलेखेको शिक्षित वर्गले यसको सुरुवात गर्नुपर्छ ।’ त्यसो त राष्टपति, प्रधान न्यायाधिश र सभामुख तीनै पदमा रहेर महिलाले आफ्नो दक्षता प्रमाणित गरिसकेका छन् । तर अझै पनि समाजमा छोरा मोह हट्न सकेको छैन ।
बंश धान्न र पितृ तार्ने नाममा छोराको आशा गर्दै पीडित बनेका आमाहरुको बीच काजकिरिया समेत गरेर देखाइसकेका छन् छोरीहरुले । रुपन्देहीको बेलबास चार दिदीबहिनीले २०६४ सालमै छोरा सरह आमाको किरिया गरेर उदाहरण दिइसकेका छन् । ‘हिन्दु संस्कार अनुसार छोराले मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै हामी दिदीबहिनीहरु पनि क्रिया बस्यौं,’ जेठी छोरी विष्णुमाया न्यौपाने भनिन् ‘दाजुभाई हुँदा पनि हामीहरु क्रिया बसेका हौं ।’ उनीहरुको कदमलाई कर्मकाण्डीहरुले पनि नकार्न सकेनन् । र, हिन्दु धर्मशाश्त्रले छोराले मात्र मृत्यु संस्कार गर्ने, छोरीले गर्न नहुने भन्ने विभेद नगरेको पुरोहित शालिकराम ज्ञवाली बताउँछन् । यही कुरा सबैलाई बुझाउन सके छोरा र छोरीमा समाजमा व्याप्त विभेद हट्न मदत पुग्ने देखिन्छ ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु