nmb bank

गृहपृष्ठ अशक्तको सशक्त काम : हात गुमाए, हिम्मत गुमाएनन्

अशक्तको सशक्त काम : हात गुमाए, हिम्मत गुमाएनन्

अशक्तको सशक्त काम : हात गुमाए, हिम्मत गुमाएनन्


बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोकमा पेट्रोल पम्प र आश्रय मोटर साइकल रिकिन्डिसनको बीचमा तीनतले घर छ । घरको अगाडि केही इँटा र बालुवाको थुपै राखिएको छ । बालुवा र इँटा बोक्ने काम एक अधवैँसे व्यक्तिले धमाधम गरेका छन् । इँटा निकै फूर्तिसाथ माथिल्लो तलमा पुर्याउँछन् ।
भकाभक इँटा उठाउने अनि माथिल्लो तलामा पुर्याउने काम निकै फूर्तिसाथ गरेको हेर्न केही मान्छे जम्मा भए थिए । मान्छेले इँटा बोक्ने व्यक्तिको एउटा हात नभएपछि इँटा धमाधमा बोकेको भन्दै हेर्दैको भीडमा म पनि पसेँ । उनको कर्मले अरूलाई प्रेरणा दिन्थ्यो । मलाई पनि लाग्यो । उनी कामको हतारमा थिए । हाफ पाइन्ट, टिसर्ट र कालो टोपी लगाएका ४४ वर्षीय प्रेम सुनारको दाहिने हातको कुहिनाबाट काटिएको छ ।


स्पष्ट बोल्न पनि सक्दैनन् । एक खेप इँटा माथिल्लो तलमा पुराएपछि नजिकैको चिया पसलमा केही बेर कुराकानी गर्न तयार बने । पाल्पा पोखराथोक घर भएका प्रेमबहादुर सुनारका आफन्त २०५४ सालमा दिल्लीबाट आउँदै थिए । सुनार आफन्तले आग्रह गरेपछि बुटवलबाट भैरहवा जाने लु १ ख ९०९ नम्बरको बस चढे । बस भैरहवा नपुग्दै रुपन्देहीको भलबारीमा दुर्घटना भयो । दुर्घटनामा उनीसहित १२ जना घाइते भए ।
लुम्बिनी अञ्चल अस्पताल बुटवल र पाल्पाको मिसन अस्पतालमा ४५ दिनको उपचारपछि घर फर्के । घर जाँदा अपाङ्ग बने । दुर्घटनापछि उनको दाहिने हात कुहिनाबाट काटियो । बोली आजीवन अस्पष्ट भयो । काठको मिस्त्री काम गर्ने सुनारलाई बस दुर्घटनाले जिगन्दीको अर्को मोडमा ल्याइदियो । पाल्पामा काठको मिस्त्री कामँसगै सानो फर्निचर उद्योग समेत चलाएका थिए उनले ।


अब त्यो अवस्था रहेन, दाहिने हात कुहिनाबाट काटियो । अनि बोली पनि स्पष्ट भएन । मिस्त्री काम पनि छाड्नु पर्यो । केही समय घरमै बसे । तर, सधैँ घरमा बस्न मनले मानेन, अर्कोतिर आर्थिक अवस्थाले पुग्दैन्थ्यो । केही काम पाइने आशले ५६ सालतिर बुटवलम झरे । तर, श्रीमतीलाई विश्वास लागेन । बुटवल झरेपछि के गर्ने ? पढाइ लेखाइ खासै छैन ।
कक्षा ३ सम्म पढेका सुनारको उद्योग व्यपार गर्नका लागि पैसा पनि थिएन । बुटवलमा खालि बसेर पनि भएन । सुरुमा रिक्सा चलाउने मनसाय बनाए । ‘रिक्सा चलाउन सक्छ भन्ने अरू कसैलाई विस्वास थिएन,’ उनले सम्झिए । रिक्सा धनीले पनि रिक्सा भाडामा दिन आनाकानी गरे । रिक्सा चलाउन साहूले पनि नपत्याउने, घरमा श्रीमतीले पनि नपत्याउने । उनलाई निकै निरासा बनायो । उनी आफुलाई रिक्सा चलाउन कुनै अप्ठ्यारो लाग्दैथ्यो ।


तर अरूले पत्ताउदैनथे । साहूले नदिए पनि साथीले रिक्सा दिए । तीन दिन चलाएपछि रिक्सा घनीको मन पनि बदलियो । घरमै आएर चलाएर खाऊ भन्दै रिक्सा दिए । अनि श्रीमती पनि खुसी भइन् । रिक्सा चलाउँदा भाडाबापत ५० रुपियाँ दिन्थे र वाँकी पैसा आफै राख्थे । कमाइ दिनको ३ देखि ४ सयसम्म हुन्थ्यो । काठको मिस्त्री काम बुटवलमा जता पनि पाइथ्यो । तर दुवै हात नहुँदा मिस्त्री काम सम्भव भएन ।
बाध्यताले रिक्सा चलाउन थालेका हुन् । रिक्सा चलाउँदा पनि आम्दानी ठिकै भयो । जब बुटवलमा अटो रिक्सा भित्रिए । उनले चलाउने पैदल रिक्साका ग्राहक घटे । उनको कमाइ पनि सुक्यो । ६ जनाको परिवार पाल्न कठिन भयो । त्यसपछि इँटा बोक्ने र बालुवा बोक्ने काम थाले । इँटा बोक्न काटिएको हातले कुनै अठ्यारो पारेको छैन । एक ट्रली ट्याकरको इँटा माथिल्लो तलमा पुराउन १५ सय रुपियाँ माग्छन् । बालुवाको पनि उस्तै मुल्य छ ।
जब ठेकेदारसँग काम गर्ने समझदारी हुन्छ । बिहानै ६ बजेदेखि लाग्छन्, साँझसम्म काम पूरा गरेका हुन्छन् । ‘१२–१५ सय रुपियाँ दिनमा कमाउन केही गाह्रो हुँदैन,’ उनले भने, ‘बिहानै आउँछु, साँझसम्म काम गरेर घर जाँदा एक ट्याक्टरको इँटा बोक्न सकिन्छ ।’ ठेकेदारले फोन गरेर बोलाउँछन् । छोरी क्याम्पस पढाउँछन् । बुटवल ११ देवीनगरको झोलुङ्गे पुल नजिकै सुनारको घर छ । १८ हात मोहडा १८ हात पिछाड भएको एक तले घर छ ।


तीनवटा कोठा छन् । एउटा सानो किचन पनि छ । जहाँ उनीसहित ६ जनाको परिवार बस्छ । श्रीमती दुई छोरी, एक छोरा त्यही घरमा बस्छन् । एक छोरा रोजगारीका लागि भारत पुगेका छन् । बुटवलको देवीनगरस्थित प्रगति नगरमा अपाङ्ग आश्रम छ । उनलाई त्यहाँ बस्न मन पर्दैन । भन्छन्, ‘आफ्नो श्रम र जागर बेचेर इज्जतका साथ बस्दाको मज्जा बैग्लै हुन्छ ।’ छोरीहरूले चाहेजति पढाउन पाउनु नै सबैभन्दा खुशी भएको बताए ।
उनकी जेठीछोरी बुटवल बहुमुखी क्यापसमा बीए दोस्रो वर्ष अध्ययन गछिन् । एउटा छोरी कान्ती सामुदायिक विद्यालयमा अध्ययनरत छिन् । एक छोरा रोजगारीको सिलसिलमा भारत छन् । श्रीमती घरमै छन् । छोरीलाई पढाइ खर्च गर्न कहिल्यै मन नखुम्च्याइएको उनले बताए । उनको अपाङ्ग कार्ड प्रयोगविहीन छ । बस दुर्घटनामा अपाङ्ग बनेपछि कार्ड बनाउन उनले चासो देखाएन् । सरकारले अपाङ्गलाई ४ बटा कार्ड लागू गरेको छ । रातो, निलो, पहलो अनि सेतो ।
रातो कार्ड प्रयोग गर्दा मासिक २ हजार भत्ता, स्वास्थ्य उपचार छुट, सार्वजनिक यातायताम छुट छ । आपङ्ग भएको धेरै वर्ष पछि अरूको आग्रहमा सेतो कार्ड बनाएका छन् । तर, प्रयोग कहिल्यै गरेका छैनन् । बसमा कतै जादाँ कार्ड देखाएर भन्दा पैसा नै दिएर जाने गरेको बताए । कार्ड देखाए पनि बसमा, अस्पतालमा छुट दिन निकै आनाकानी गर्ने हँुदा माग्न मन नलाग्ने खुलाए । ‘छुट माग्दा कहाँ दिने अनेक कुरा गर्छन् । त्योभन्दा खुरुक्क पैसा दियो, टन्टै साफ,’ उनले भने । अपाङ्ग भएकालाई उनले भने, ‘किन रकम छुट माग्ने ? पैसा तिर्न नसक्ने बस किन चढ्ने ?’ अरू साथीहरूसँग मागेर जानुपर्ने बताउँछन् । उनले काम गर्दा ठेकेदारलाई अपाङ्गलाई नहेप्न आग्रह गरे ।

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु