मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
वि.सं.२०८३ कात्तिक ९ सोमवार १२:३४
shares

सारांश
- मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन ।
- पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन ।
- सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन ।
चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन । भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनि यहाँ आएकी हुन ।
सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन । समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उहाँले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन ।
मन्त्री रावलले भनिन, “धेरै समयदेखि उहाँहरु पीडामा हुनुहुन्छ । छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ ।” बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले जनताका माझमा मन्त्री आफै पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन ।
मन्त्री रावलले भनिन, “सरकारले जनताको हकहितमा के काम गरिरहेको छ ?, आगामी कार्ययोजना के छ ? भन्नेबारे जनतालाई बताउनुपर्ने छ । उहाँहरु त्यो सुन्न आतुर हुनुहुन्छ ।”
अहिले बसोबास गरेको ठाउँबाट उठाइ दिने हो कि भन्ने विषयलाई पनि चिर्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले भनिन, “त्यस्तो हुँदैन । हामीले काम गरिरहेका छौँ । कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ ।”
मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताइन ।
























