गृहपृष्ठ अफगानिस्तानमा शान्तीको संचार, विद्रोही र सरकारी सेनाले गरे अंकमाल
अफगानिस्तानमा शान्तीको संचार, विद्रोही र सरकारी सेनाले गरे अंकमाल
अफगानिस्तानमा त्यहाँको सरकारले तालिबानहरुसँगको एकपक्षीय संघर्षविरामलाई निरन्तरता दिएको छ । मुस्लीमहरुको महान पर्व इद–अल फित्रका लागि राष्ट्रपति असरफ घानीले युद्धविरामलाई निरन्तरता दिएका हुन् ।
बीबीसीका अनुसार उनले तालिवानीहरुलाई वार्तामा आउन आह्वान पनि गरेका छन् । टेलिभिजनमार्फत गरिएको सम्बोधनमा राष्ट्रपति घानीले तालिबानहरूसँग ’विस्तृत वार्ता’ गर्न सरकार तयार रहेको बताए । ‘ती सबै विषयहरू र अन्य मागका सम्बन्धमा हामी शान्ति वार्तामा कुरा गर्न तयार छौँ,’ उनले भने ।
घानीले इद अल फित्रका अवसरमा तालिबान र सरकारी फौजहरु तथा अधिकारीहरू एकै ठाउँमा उभिएकाले सबै जना शान्तिको पक्षमा रहेको सन्देश प्रवाह भएको पनि उल्लेख गरे । उनले युद्धविरामको अवधिमा तालिबानी लडाकूहरूलाई स्वास्थ्य र मानवीय सहायताहरू उपलब्ध गराइने र तालेबान बन्दीहरूलाई आफ्ना परिवारसँग भेट्न दिइने पनि बताए । उनले सरकारले केही तालिबान बन्दीहरूलाई रिहा गरेको जनाए ।
इदको अवसरमा युद्धविराम गरिएपछि केही अभूतपूर्व दृश्य देखिएका छन् । जहाँ विद्रोहीहरूले सुरक्षा फौजका सदस्यहरूसँग अंकमाल गरेका र नागरिकहरूसँग मोबाइलमा ’सेल्फी’ लिइरहेका थिए । तर, तालिबान र सरकारी अधिकारी जम्मा भएको एउटा भिँडमा आक्रमण पनि भएको छ, जहाँ २५ जना मारिएका छन् ।
नाङ्गहारमा भएको उक्त आक्रमणमा तालिबानका सदस्य र स्थानीय बासिन्दा बढी प्रभावित भएको र ५४ जना घाइते भएको बताइएको छ । उक्त क्षेत्रमा सक्रिय रहेको इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
यसै महिनाको सुरूमा तालिबानहरूले अफगान सरकारसँग गोप्य ढङ्गले उनीहरुले वार्ता गरिरहेको भन्ने विवरण अस्वीकार गरेका थिए । सन् २००१ मा अमेरिकी नेतृत्वको आक्रमणपछि सत्ताबाट तालिबानलाई हटाइएयता भएका हिंसामा दशौँ हजार अफगानीले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय : १५:०४ बजे




















