global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राजपाको महाधिवेशन पुस १५ बाट गर्ने प्रस्ताव

राजपाको महाधिवेशन पुस १५ बाट गर्ने प्रस्ताव

राजपाको महाधिवेशन पुस १५ बाट गर्ने प्रस्ताव

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन पुस १५, १६ र १७ गते गर्ने विषयमा छलफल सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी राजनीतिक समितिको बैठकमा अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्रराय यादवले छुट्टाछुट्टै विधानको मस्यौदा प्रस्ताव गर्दै महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।
बैठकले पार्टी महाधिवेशनसम्मका लागि पार्टीको छुट्टै विधान बनाउने तयारी गरेकोे महासचिव केशव झाले जानकारी दिए । यसअघि, पार्टी दर्ताका लागि बनेको विधान पूर्ण नरहेकाले महाधिवेशनसम्मका लागि अर्को विधान बनाउन लागिएको उनले बताए ।
राजपा नेपालको हालको विधानमा एक वर्षभित्रमा महाधिवेशन गर्ने उल्लेख छ । जसअनुसार असार ३० गतेभित्रै महाधिवेशन गर्न निर्वाचन आयोगले पनि पत्राचार गरेकाले महाधिवेशन गर्ने प्रयोजनका लागि ६ महिनाको थप म्याद मागी सोहीअनुसार महाधिवेशन सम्पन्न गर्न महतोले अर्काे विधानको प्रस्ताव गरेका हुन् ।
महतोद्वारा प्रस्तुत मस्यौदामा देशभरका सबै वडाको अधिवेशन कात्तिक ६ गते, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन कात्तिक १० गते र महाधिवेशन प्रतिनिधिको अधिवेशन कात्तिक १२ गते गरिसक्ने उल्लेख छ ।
महतोले प्रदेश १ का सबै जिल्ला अधिवेशन कात्तिक १४, प्रदेश २ का सबै जिल्लाको अधिवेशन कात्तिक १५, प्रदेश ३ का सबै जिल्लाको अधिवेशन कात्तिक १६, प्रदेश ५ का सबै जिल्लाको अधिवेशन कात्तिक १७, प्रदेश ७ का सबै जिल्लाको अधिवेशन कात्तिक १८ र प्रादेशिक अधिवेशन मंसिर १ र २ गते सम्पन्न गरिसक्नुपर्ने प्रस्ताव गरेको नेताहरुले बताएका छन् ।
बैठकमा महाधिवेशनको मितिका साथै, समसामयिक राजनीतिक अवस्था, संसदीय दलको नेता चयन, संसदीय दलको विधानलगायत एजेन्डामा छलफल जारी छ ।

प्रकाशित समय : २३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु