गृहपृष्ठ राजपा बैठक जारी, महासचिव भन्छन्, ‘आज विशेष निर्णय हुन्छ’
राजपा बैठक जारी, महासचिव भन्छन्, ‘आज विशेष निर्णय हुन्छ’
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राजनीतिक समितिको बैठक आज पनि जारी छ । बैठकले आज केही महत्वपूर्ण निर्णय लिने सो पार्टीका महासचिव केशव झाले बताएका छन् ।
सरकारमा सहभागिता, पार्टीको राष्ट्रिय महाधिवेशन, आगामी रणनीतिलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी राजनीतिक समितिको बैठकमा राष्ट्रिय महाधिवेशन पुस १५, १६ र १७ गते गर्ने प्रस्ताव पेश भएको छ ।
अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्रराय यादवले छुट्टाछुट्टै विधानको मस्यौदा प्रस्ताव गर्दै महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् । ‘सोही प्रस्तावमा आवश्यक छलफल गरी आज निर्णय हुन्छ,’ महासचिव झाले भने, ‘बैठकले पार्टी महाधिवेशनसम्मका लागि पार्टीको छुट्टै विधान बनाउने गरी पनि निर्णय गर्न सक्छ ।’ यसअघि, पार्टी दर्ताका लागि बनेको विधान पूर्ण नरहेकाले महाधिवेशनसम्मका लागि अर्को विधान बनाउन लागिएको उनको भनाइ छ ।
राजपा नेपालको हालको विधानमा एक वर्षभित्रमा महाधिवेशन गर्ने उल्लेख छ । जसअनुसार असार ३० गतेभित्रै महाधिवेशन गर्न निर्वाचन आयोगले पनि पत्राचार गरेकाले महाधिवेशन गर्ने प्रयोजनका लागि ६ महिनाको थप म्याद मागी सोहीअनुसार महाधिवेशन सम्पन्न गर्न महतोले अर्काे विधानको प्रस्ताव गरेका हुन् ।
महतोद्वारा प्रस्तुत मस्यौदामा देशभरका सबै वडाको अधिवेशन कात्तिक ६ गते, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन कात्तिक १० गते र महाधिवेशन प्रतिनिधिको अधिवेशन कात्तिक १२ गते गरिसक्ने उल्लेख छ ।
महतोले प्रदेश १ का सबै जिल्ला अधिवेशन कात्तिक १४, प्रदेश २ का सबै जिल्लाको अधिवेशन कात्तिक १५, प्रदेश ३ का सबै जिल्लाको अधिवेशन कात्तिक १६, प्रदेश ५ का सबै जिल्लाको अधिवेशन कात्तिक १७, प्रदेश ७ का सबै जिल्लाको अधिवेशन कात्तिक १८ र प्रादेशिक अधिवेशन मंसिर १ र २ गते सम्पन्न गरिसक्नुपर्ने प्रस्ताव गरेको नेताहरुले बताएका छन् ।
बैठकमा महाधिवेशनको मितिका साथै, समसामयिक राजनीति, संसदीय दलको नेता चयन, संसदीय दलको विधानलगायत एजेन्डामा छलफल जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि सरकारमा सहभागि हुने बताएका राजपा नेताहरुले संविधान संशोधनलाई प्रमुख सर्त बनाएका छन् । संविधान संशोधनका विषयमा सरकारबाट विश्वस्त प्रतिबद्धता आए सरकारमा जान सकिने विषयमा पनि नेताहरुले राय प्रस्तुत गरेका छन् ।
प्रकाशित समय : १४:४९ बजे




















