काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कम्बोडियाली आमनिर्वाचन, विपक्षी निरिह

19.28K
shares

कम्बोडियाको आइतबार सम्पन्न निर्वाचनबाट हुन सेनको ३३ वर्षे प्रधानमन्त्रीत्वकाल पुनः थप हुने भएको छ । निरिह र नाम मात्रका विपक्षी दलहरुका कारण हुन सेनको विजय सुनिश्चित भएको हो ।

उनको विजयसँगै प्रकारान्तरले कम्बोडियो एक–दलीय राज्यमा रुपान्तरित हुनेछ । हुन सेन सन् १९८५ मा कम्बोडियाको सत्तामा आएका थिए । सत्तामा आएसँगै उनले नागरिक समाज, सञ्चार माध्यम र राजनीतिक विपक्षीहरुको दायरा साँघुरो बनाए ।

पश्चिमा देशहरुले विश्वसनीय चुनावको आधार समाप्त भएको भन्दै सहयोग बन्द गरेका छन् भने अधिकारवादी संस्थाहरु र विपक्षीहरुले लोकतान्त्रिक प्रक्रियालाई दबाएको आरोप लगाएका छन् ।

चुनावमा हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) का बिरुद्ध साना र नामै नसुनिएका १९ वटा दल चुनावी प्रतिस्पर्धामा छन् । मुख्य विपक्षी दल कम्बोडिया नेसनल रेस्क्यू पार्टी (सीएनआरपी) लाई नोभेम्बर २०१७ मा सर्वोच्च अदालतले विघटन गरेपछि हुन सेनलाई चुनावमा चुनौती दिने कुनै बलियो शक्ति देखिएको छैन ।

को हुन् हुन सेन ?
कम्बोडियाली नेता हुन सेनले आफ्नो ३३ वर्षीय शासनकालमा निर्दयी खमेर रुजभन्दा पनि बढी समय शासन गरिसकेका छन् भने राजतन्त्रलाई पाखा लगाए र आफ्ना विपक्षीलाई दबाए । उनले आफूलाई मुलुकको संरक्षक र राजनीतिक दक्षता भएको व्यक्तिका रुपमा स्थापित गर्नुमात्र होइन, आगामी पाँच वर्षका लागि सत्तामा आफूलाई स्थापित गर्नेछन् ।

चुनावी मतदानस्थल बाहिर औंलामा दलेको मसी देखाउँदै यी ६५ वर्षीय धुरन्धर नेताले आफ्नो विजयलाई कसैले छेक्न नसक्ने संकेत दिएका छन् । यति लामो समय शासनमा रहेका विश्वकै दुर्लभ नेताको श्रेणीमा उनले आफूलाई उभ्याएका छन् ।

हुन सेन कुनै समय कम्बोडियाका अतिवादी माओवादी संगठन खमेर रुजका कार्यकर्ता थिए । खमेर रुजले अमेरिकी समर्थनमा बनेको लोन नोलको सत्तालाई पराजित गर्नुका साथै सन् १९७५ देखि १९७९ को बीचमा कूल जनसंख्याको झण्डै एक तिहाईको हत्या गरेको थियो ।

आफूलाई त्यस आन्दोलनबाट चोखो देखाउन उनले विद्रोह गरे, खमेर रुजको पराजयसँगै मुलुक फर्किए र कम्बोडियालाई थप अराजकताबाट बचाउन भूमिका निर्वाह गरेको देखाए ।

यी महत्वाकांक्षी पूर्व लडाकूलाई ३२ वर्षकै उमेरमा सन् १९८५ मा प्रधानमन्त्रीका रुपमा नियुक्त गरियो ।

लोकतान्त्रिक पद्धति अनुसार राष्ट्रसंघको रेखदेखमा सम्पन्न सन् १९९३ को पहिलो चुनावमा हुन सेन पराजित भए । तर सन् १९९७ को रक्तपातपूर्ण सत्ता विद्रोहबाट उनले पुनः सत्ता कब्जा गरे । उनीमाथि सेनासँग घनिष्ट सम्बन्ध स्थापना गरेको, आफन्त र छोराहरुलाई मुख्य सुरक्षा संयन्त्रहरु हस्तान्तरण गरेको आक्षेप लाग्ने गरेको छ ।

हालैका वर्षहरुमा चीनले कम्बोडियालाई पूर्वाधार निर्माणमा नगद र सस्तो दरमा ऋण उपलब्ध गराएर हुन सेनलाई राम्रै भरथेग गरेको छ जसका कारण पश्चिमा मुलुकसँग हुन सेनको परनिर्भरता घटेको छ ।

सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टीले सन् १९९८ यता कुनै पराजय व्यहोर्नु परेको छैन । सन् २०१२ मा गठन भएको कम्बोडिया नेसनल रेस्क्यू पार्टी (सीएनआरपी) ले सन् २०१३ मा ४४ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको थियो । उनीहरुले सन् २०१७ को स्थानीय चुनावमा पनि यही नतिजा ल्याएका थिए । तर उनीहरुको प्रगतिलाई अदालतको आदेशबाट ध्वस्त पारियो ।

पेरिसमा निर्वासित जीवन बिताइरहेका सीएनआरपीका सह संस्थापक नेता साम रेन्सीले खमेर रुजबाट प्रशिक्षित हुन सेनले हिंसा र दण्डहीनताको बलबाट सत्ता कसरी हत्याउन सकिन्छ भन्ने राम्रैसँग बुझेको प्रतिक्रिया दिए ।