काभ्रेमा फुपूकै मिलेमतोमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या
वि.सं.२०७५ साउन १५ मंगलवार १९:१०
shares

कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक साता नबित्दै राजधानीनजिकैको जिल्ला काभ्रेमा पनि त्यस्तै घटना घटेको छ । काभ्रेको तेमाल गाउँपालिका–१, देच्छेलिङ गुम्बापरिसरमा नौ वर्षीया बालिका एलिसा तामाङको बलात्कारपछि हत्या भएको सार्वजनिक भएको हो ।
असार २० गते राति मृत भेटिएकी तामाङको झन्डै एक महिनापछि बलात्कार गरेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलार्इ प्रहरीले मुख तथा योनीमा घाउन भएको अवस्थामा मृत फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबारमात्र सो घटनाको सार्वजनिक गरेको छ ।
यसरी भयो बलात्कारपछि हत्या
सुरूमा बाराको बारागढी गाउँपालिका–६ स्थायी घर भएका जोखन मन्सुरसँग फुपू मिना तामाङले यौन सम्बन्ध राख्न लागेको बालिकाले देखेकी थिइन् । ‘बालिकाले देखेपछि मीना केही पर भागिन्, रक्सीले मातेका मन्सुरले बालिकालार्इ सुरूमा चाउचाउ दिएर फकाउन खोजे पनि पछि सार्वजनिक गरिदिन सक्ने डरले फुपूकै सामुन्ने बलात्कार र हत्या गरेको पुष्ट भएको छ,’ जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले भने ।
साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, महुलियाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । साउन १३ गते पनि कलंकीकै एक युवतीलार्इ होटलमा बोलाएर बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुर्इ जवान पक्राउ परेका छन् ।
नाबालिका बलात्कारको दर्दनाक तथ्यांक
एक महिनायता मात्रै बलात्कार जस्ता जघन्य अपराधका घटना एक दर्जनभन्दा बढी घटना घटेका छन् । बलात्कारका घटनामा ६२ वर्षीया वृद्धादेखि ६ वर्षीया नाबालिकासम्म परेका छन् । अझ १० वर्षमुनिका बालबालिकामा के सही र के गलत भन्ने छुट्याउने वृत्तिविकाससमेत भइसकेको हुँदैन । र, यिनै बालबालिका यौनपिपासुहरुको उच्चतम पीडामा पर्ने गरेका छन् । प्रहरी प्रधान कार्यलयको सूचनाअनुसार बर्सेनि बढ्दै गएका बलात्कारका घटनामा १० वर्षमुनिका नाबालिकाको संख्या अधिक छ ।
आर्थिक वर्ष ०७२/७३ मा एक हजार ८९ वटा बलात्कारका घटनाम भएकोमा २ सय १३ वटा घटनामा त १० वर्षमुनिका बालिका परेका छन् । १० वर्षसम्मका उमेर समूहका बालिका भनेको अधिकांश समय बुबाआमा र परिवारको छत्रछायाँमा हुर्कन्छन् । तर, सधैं उनीहरुकै निगरानीमा रहने अवोध बालिकामाथि बलात्कारको संख्या उच्च हुनुले समाज यौनपिपासुको नङ्ग्राबाट चिथोरिँदै गएको बुझ्न सकिन्छ । अधिकारकर्मी रञ्जु झा ‘हाम्रो समाज कतातिर गैरा’छ भन्ने बुझ्नै गाह्रो भइरहेको’ बताउँछिन् । ‘म पूरै हैरान हुने गरेको छु । कसलाई कहाँ गएर सम्झाउने होला, यो समाजमा किन यति विघ्न क्रुर मानिसले जन्म लिइरहेका छन् ? यस्ता प्रश्नले मलाई घेरेर राख्ने गरेको छ ।’
बलात्कारलाई हरेक देशमा अक्षम्य अपराध मानिन्छ । नेपालमा यस्ता अपराधीलाई फाँसी दिनुपर्ने कानुन बनाइनुपर्ने माग बेला–बेला नउठेका होइनन् । तर, हदैसम्म कारबाहीका लागि कानुनको पनि परिमार्जन आवश्यक भएको अधिवक्ताहरू बताउँछन् ।

























