गृहपृष्ठ कांग्रेसलाई सधैँ सर्वसत्तावादको भय
कांग्रेसलाई सधैँ सर्वसत्तावादको भय
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला २१ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । घोषणापत्रका अधिकांश बुँदा नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको आलोचनामा खर्चिएको कांग्रेसले सरकारको आलोचनालाई कार्यकर्ता फकाउने अस्त्रका रुपमा उपयोग गरेको छ ।
तीनै तहको निर्वाचनमा ‘अनपेक्षित नतिजा’ व्यहोरेपछिको कार्यकर्तासँगको पहिलो भेटमा केन्द्रीय नेतृत्वले चर्काे आलोचना खेप्नु पर्याे । स्थानीय तहको चुनावी गठबन्धनदेखि टिकट वितरणमा भएको भनिएको ‘भेदभावपूर्ण व्यवहार’लाई लिएर जिल्ला सभापतिहरुले नेताहरुलाई पटक–पटक प्रश्न गरेका थिए । तीनै तहमा रक्षात्मक स्थितिमा पुगेको कांग्रेसलाई पुनर्ताजगी दिन गुटबन्दी मुख्य बाधक रहेको निश्कर्ष निकालेका जिल्ला सभापतिहरुले नेतृत्वको आलोचनामा समय खर्चेका थिए ।
जिल्ला सभापतिहरुको आलोचना सुनेपछि पार्टी सभापति शेरबहादुर देउवा एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रण गरे । नेताद्वयले आफुहरुले गुटभन्दा माथि उठेर आगामी निर्वाचनमा पार्टीलाई फेरी एक नम्बरको बनाउने घोषणा गरेका थिए । तर, नेताहरुको यो घोषणा काठमाडौं पुग्दासम्म कायम हुने हो कि होइन भन्ने शंसय सहभागीहरुमा प्रष्टै देखिन्थ्यो । उनीहरुले देउवा, पौडेल लगायत नेतृत्वबाट आगमी निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउने गरी खट्ने निर्देशनसमेत पाएका छन् ।
भेलामा नेताहरुले बर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गरे । विगतदेखिनै पटक–पटक सर्वसत्तावादको भय भन्दै कम्युनिस्टहरुको आलोचना गर्दै आएको कांग्रेसले यस पटक पनि त्यसलाई निरन्तरता दिएको छ ।
सरकारको आलोचना
भेलाद्वारा जारी २१ बुँदे कांग्रेस हेटौंडा घोषणापत्रमा सरकारको कडा आलोचना गरिएको छ । उक्त घोषणापत्रका ९ देखि १४ नम्बर बुँदासम्म सरकारको आलोचना गरिएको हो ।
घोषणापत्रमा सञ्चार जगतमा निशेध र नियन्त्रणकारी हस्तक्षेपको थालनी, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पत्तिको हकलाई कुण्ठित गर्ने प्रयत्न गरेको आरोप सरकारलाई लगाइएको छ । त्यसैगरी सरकारले राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, ट्रेड युनियन अधिकार खोस्ने प्रयत्न गरेको समेत आरोप कांग्रेसको छ ।
चर्काे मूल्यवृद्धि, पेशागत सामाजिक संस्थामाथिको नियन्त्रणकारी रवैया, दण्डहिनता मौलाउँदै गएको भन्दै सरकार सर्वसत्तावाद उन्मुख रहेको कांग्रेसको आरोप छ । फरक विचार राख्नेमाथि राज्यआतंक बढेको आरोप लगाउँदै उसले यस्तो आतंक नरोकिए आन्दोलनमा उत्रनेसमेत चेतावनी दिएको छ ।
२१ बुँदे घोषणापत्रको १८ औं बुँदामा उल्लेख छ, ‘देशभरी सरकारी संरक्षणमा बढ्दै गएको भौतिक आक्रमण, अलग विचार राख्ने नेता तथा कार्यकर्तामाथि सुनियोजित अभियोग लगाउने, गिरफ्तार गर्ने, मुद्दा चलाउनेजस्ता राज्यआतंकको घोर भत्सर्ना गर्दै दूरासयपूर्ण यस्ता गतिविधि तत्काल बन्द नगरिए आन्दोलनमा उत्रने चेतावनी’ दिइएको छ ।
भेलाले कार्यकारी प्रमुखको बहस सतहमा आएको भन्दै त्यसलाई संविधान बिफल पार्ने षडयन्त्रका रुपमा अथ्र्याएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहालले केही दिनअघि आफुहरु कार्यकारी राष्ट्रपतिमा जान सक्ने टिप्पणी गरेका थिए । दाहालको उक्त भनाईप्रति टिप्पणी गर्दै घोषणापत्रमा भनिएको छ, ‘निर्वाचनको बेला स्थिरताको नारा दिने तर, शासन प्रणालीलाई नै अस्थिरतातर्फ धकेल्ने गरि राष्ट्रपतीय प्रणालीबारे आएको अभिव्यक्तिलाई यो भेला सहमतिद्धारा निर्मित संविधानलाई विफल पार्ने षड्यन्त्रको रुपमा लिन्छ ।’
बुहमतको आडमा संविधानको मूलभूत संंचना भत्काउने ‘डिजाइन’ले लामो संघर्षबाट प्राप्त उपलव्धीलाई समाप्त पार्न सरकार उद्यत् रहेको भन्दै त्यसलाई सहयोग पु¥याउने खतरातर्फ सचेत रहन भनेको छ ।
बजेटमा असन्तुष्टी
नेपाली काँग्रेसले आफु नेतृत्वको सरकारले ल्याएका एजेण्डाहरु वर्तमान सरकारले लत्याएको भन्दै असन्तुष्टी पोखेको छ । विगतमा कांग्रेस नेतृत्वको सरकारले भूकम्प पीडितहरुलाई थप १ लाख प्रदान गर्ने, क्यान्सर, मृगौला रोगी, स्पाइनल इन्जुरी, लगायत गम्भीर प्रकृतिका रोगीहरुलाई जीविकोपाजर्न भत्ता स्वरुप ५ हजार उपलव्ध गराउने जस्ता घोषणा गरेको थियो । सरकारले उक्त घोषणालाई निरन्तरता नदिएको भन्दै कांग्रेसले असन्तुष्टी जनाएको छ ।
६५ बर्ष उमेरमाथिका नागरिकलाई वृद्धभत्ता दिने जस्ता कांग्रेस नेतृत्वको सरकारका निर्णयलाई जनहितकारी भन्दै भेलाले ति एजेण्डा उल्ट्याउनुले सरकारको सामाजिक सुरक्षाप्रतिको सम्वेदनहिनतालाई उदाङ्गो पारेको उल्लेख गरेको छ ।
सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि कांग्रेसले दिएको छ । सभापतिहरुको भेलामा नेताहरुले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने प्रण गरेका छन् ।
यस्ताे छ घाेषणापत्र

प्रकाशित समय : १८:१३ बजे




















