अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याबाट तीन हजार २८३ जनाको मृत्यु
वि.सं.२०८३ कात्तिक ११ बुधवार १३:०९
shares

काठमाडाैँ। अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याका कारण तीन हजार २८३ जनाको मृत्यु भएको छ । मङ्गलबार सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार मृतकमध्ये पुरुषको सङ्ख्या अत्यधिक रहेको छ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार, सन् २०२५ मा देशभर दर्ता भएका कुल एक लाख ८८ हजार ४२१ मृत्युमध्ये तीन हजार २८३ जनाको मृत्यु आत्महत्याका कारण भएको थियो। यससँगै आत्महत्या देशमा मृत्युको १५औँ प्रमुख कारण बनेको छ।
यो सङ्ख्या सन् २०२४ मा अभिलेख गरिएका तीन हजार ३२६ जनाको तुलनामा केही कम हो। यद्यपि, मृत्युका घटनासम्बन्धी आधिकारिक छानबिन जारी रहेकाले यो सङ्ख्या अझ बढ्न सक्ने एबीएसले जनाएको छ।
तथ्याङ्कअनुसार, सन् २०२५ मा आत्महत्याका कारण मृत्यु हुनेमध्ये ७३ दशमलव नौ प्रतिशत पुरुष थिए। मृतकको औसत उमेर ४५ वर्ष रहेको थियो। पुरुषको औसत उमेर ४५ दशमलव पाँचवर्ष र महिलाको ४३ दशमलव आठ वर्ष थियो।
तुलनात्मक रूपमा, सन् २०२५ मा मृत्युका प्रमुख २० कारणमध्ये आत्महत्याबाहेक अन्य कुनै पनि कारणबाट मृत्यु हुनेको औसत उमेर ६५ दशमलव पाँच वर्षभन्दा कम थिएन।
एबीएसका अनुसार, सन् २०२५ मा १५ देखि ४४ वर्ष उमेर समूहका अस्ट्रेलियालीहरूमा आत्महत्या मृत्युको प्रमुख कारण थियो। यसले अकाल मृत्युको प्रमुख कारणका रूपमा समेत महत्वपूर्ण स्थान ओगटेको छ।
आत्महत्याका कारण मृत्यु भएका व्यक्तिहरूको सम्भावित बाँकी जीवनावधि गणना गर्दा कुल एक लाख आठ हजार ६७४ वर्षको सम्भावित जीवन गुमेको तथ्याङ्कले देखाएको छ।

























