गृहपृष्ठ पशुचौपायामा पनि ठेकेदारको लापर्बाही, दर्जनौँ गाई भोकैले मरे
पशुचौपायामा पनि ठेकेदारको लापर्बाही, दर्जनौँ गाई भोकैले मरे
कैलाली सदरमुकाम धनगढीबाट बझाङका विभिन्न स्थानका स्थानीयलाई वितरण गर्न भन्दै लगिएका छाडा गाईगोरु धमाधम मर्न थालेका छन् । बझाङका विपन्न समुदायलाई वितरण गर्न धनगढी उप–महानगरपालिकाले ठेकेदारमार्फत पठाएका छाडा गाई बाटोमै मर्न थालेका हुन् ।
सदमुकाम धनगढी नजिकै रहेको कैलालीको गोदावरी नगरपालिका र छिमेकी चुरे गाँउपालिका क्षेत्र पुर्याउँदै गाईहरु मर्न थालेका र ठेकेदारले मरेका गाई यतिकै छाडिदिँदा समाजमा दुर्गन्धसमेत फैलिन थालेको छ ।
ठेकेदारले मरेका गाई गाड्न पनि आनाकानी गरेको स्थानीयको गुनासो छ । धनगढी दिपायल फास्ट ट्रयाकअन्र्तगत गोदावरी र चुरे गाँउपालिकाको सिमानामा पुर्याउँदा झण्डै तीन दर्जन गाईहरु मरेका चुरे गाँउपालिकाका स्थानीय बताउँछन् ।
उपमहानगरले केहि महिनाअघिदेखि बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका र सुर्मा गाउँपालिकाका विपन्न समुदायलाई पशु चौपाया वितरण गर्ने भन्दै धनगढीे ठेकेदारमार्फत गाई पठाउन सुरु गरेको थियो । तर, पठाउन शुरु गरेको केहि दिनमै धमाधम पशुचौपाया मर्न थाल्दा पनि उपमहानगरसहितका सम्बन्धित निकाय थाहै नपाएजस्तो गरी बसेका छन् ।
धनगढी उप–महानगरपालिकाका मेयर नृप ओड बझाङको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्खबहादुर रोकाया र सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराबीच दुवै गाउँपालिकाका विपन्न समुदायलाई छाडा पशु वितरण गर्ने सम्झौता वमोजिम नै आफूहरुले ठेकेदारमार्फत पठाउन थालेको बताउँछन् ।
नगरपालिकाले बझाङ पुर्याएबापत ठेकेदारलाई प्रतिगाई एक हजार रुपैयाँका दरले दिने सम्झौतासहित पहिलो चरणमा ६ सय ३५ छाडा गाई पठाएको थियो । तर, ठेकेदारको लापर्बाहीका कारण अधिकाशं गाई बाटोमै मर्न थालेपछि यो ठूलो समस्या बन्दै गएको छ ।
धनगढीबाट ९ सय गाई खप्तड छान्ना र सुर्मा गाउँपालिका पुर्याउने जिम्मा मोहन सिंहले पाएका थिए । छाडा गाईलाई हिँडाएर लैजान ठेकदारले ८, ९ जना हेरालुसमेत बाटोभरी लगाउने गरेका छन् । तर, हेरालुसमेत गाई गोरु व्यावस्थापनमा त्यती सक्रिय नहुने गरेको पाईएको छ ।
मरेका गाईको व्यवस्थापन नभएपछि स्थानीयबासी महामारी फैलिने चिन्तामा छन् । बझाङ जिल्लाका विपन्न समुदायलाई गाई वितरण गरेर जिल्लाको पोषणको अवस्थामा सुधार आउने दाबी उप–महानगरपालिकाको थियो । उप–महानगरपलिकाले सबै गाई गोरु बझाङ पुर्याएपछि मात्रै ठेकेदारलाई पैसा दिने बताएको छ । तर, सबै पुगीसकेको हाते प्रतिवेदन तयार गरी ठेकेदारले रकम बुझ्ने गरेका छन् ।
कैलालीका अधिकाशं नगरपालीका र गाउँपालिकाले यसरी नै छाडा पशु चौपाया पहाड पठाउने गरेका छन् । तर, कैलाली जिल्ला कटाउन नपाउँदै अधिकाशं गाईगोरु मरिसकेका हुन्छन् । केहि महिना अघिमात्रै जानकी गाउँपालीकाले कालिकोट पठाउन लागेका करिब ५० भन्दा बढी पशुचौपाय मोहोन्याल गाउँपालिका कटाउन नपाउँदै धमाधम मर्न थालेपछी स्थानीयले चर्को विरोध गरेका थिए । अहिले सो ठाउँवाट पशु चौपाय ओसारपसार गर्न बन्द गरिएको छ ।
प्रकाशित समय : १४:०५ बजे



















