गृहपृष्ठ विद्यासुन्दरलार्इ प्रधानमन्त्रीको प्रश्न– एक वर्षमा के–के गर्नुभो ?
विद्यासुन्दरलार्इ प्रधानमन्त्रीको प्रश्न– एक वर्षमा के–के गर्नुभो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग एक वर्षको कामको प्रगति विवरण माग गरेका छन् । महानगरपालिकाको एक वर्ष त्यसै बितेको भन्दै सवर्त्र आलोचना भइरहेका बेला शाक्य जापान प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर प्रगति विवरण माग गरेका हुन् । शाक्य करिब एक साता भ्रमणका लागि हाल जापानमा छन् ।
महानगरले काम गर्न नसक्दा सरकार र सिंगो पार्टीले गाली खाइरहेको भन्दै ओलीले जनताले महसुस गर्ने गरी काम गर्न शाक्यलार्इ निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले काठमाडौंका सडकको खाल्डाखुल्डी, धुलोधुवाँ, फोहोर व्यवस्थापनलगायतमा महानगरले ठोस काम गर्न नसकेको भन्दै प्रमुख शाक्यलार्इ सचेत गराएका हुन् ।
प्रमुख शाक्यले भने प्रधानमन्त्रीलार्इ विभिन्न ठाउँबाट अवरोध भएकाले काम गर्न नसकिएको जानकारी गराएका थिए । ‘केन्द्र र प्रदेश सरकारले नगरेको कामको दोष पनि आफूले बोक्नुपरेको छ,’ प्रधानमन्त्रीसमक्ष उनले गरेको गुनासो उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसमाथि मिडिया मप्रति नकारात्मक छ ।’ स्थानीयबासीभन्दा बाहिरबाट आएकाहरूले बढी आफ्नो विरोध गरेको जानकारी प्रधानमन्त्रीलार्इ गराएका थिए ।
शाक्यको गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले विज्ञ र सल्लाहकारहरुको टिम बनाएर काम गर्न सुझाव दिएका थिए । प्रधानमन्त्रीले केही दिनअघि नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जूलार्इ पनि बोलाएर नगरपालिकाको काम-कारबाहीबारे चासो राखेका थिए ।
प्रकाशित समय : २२:११ बजे


















