गृहपृष्ठ विश्व स्तनपान सप्ताह सुरु, स्तनपानमा नेपाल अगाडि
विश्व स्तनपान सप्ताह सुरु, स्तनपानमा नेपाल अगाडि
आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ । नेपालमा पनि ‘स्तनपान जीवनको आधार’ भन्ने मूल नाराका साथ यो सप्ताह मनाइँदै छ । स्तनपानको आवश्यकता तथा यसको दीर्घकालीन फाइदा र बेफाइदाबारे सप्ताहमा जानकारी गराइन्छ । नेपालमा स्तनपान सप्ताहका लागि सरकारका साथै विश्व स्वास्थ्य संगठन र युनिसेफले सहयोग गर्दै आएका छन् ।
विश्वभरका बालबालिकाको शारीरिक तथा मानसिक विकास, सुरक्षा र स्वास्थ्य सुधारमा स्तनपानसम्बन्धी सहयोगका लागि विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोषलगायतको संयुक्त आह्वानमा सन् १९९० बाट स्तनपान सप्ताह मनाउन थालिएको हो । शिशु तथा बालबालिकाको पौष्टिक आहारा सेवनको अधिकार सुनिश्चित गर्न स्तनपान सप्ताह मनाउने गरिन्छ । विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष अगस्ट १ बाट ७ सम्म विश्वभर मनाउने गरिन्छ ।
स्तनपानमा नेपाल अगाडि
विश्व स्वास्थ्य संगठन र युनिसेफले ७६ वटा देशमा गरेको अध्ययनले नेपाल स्तनपानमा अगाडि रहेको देखाएको छ । स्तनपानको विषयलाई राष्ट्रियस्तरबाटै योजना बनाएर लागू गरेकाले यसमा नेपाल सफल रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा नेपालले २०७२ सालको विनासकारी भूकम्पका बेलामा पनि पोषणयुक्त आहारभन्दा स्तनपानलाई नै बढी प्राथमिकता दिएको उल्लेख छ ।
नेपालमा ६ महिनाभित्रका ६६ प्रतिशत र दुई वर्षभित्रका ८९ प्रतिशतले पूर्णरुपमा स्तनपान गर्न पाएका छन् । नेपालमा स्तनपान सुधारका लागि एक नवजात शिशुका लागि ५ डलर खर्च हुने गरेको छ, जसअनुसार नेपालमा दातृ निकायको २९ लाख डलर खर्च हुन्छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणअनुसार शिशु जन्मेको एक घण्टाभित्र ५५ प्रतिशतले स्तनपान गराउँछन् ।
स्तनपानको महत्व
जन्मिएको एक घण्टाभित्र शिशुलाई आमाको दूध चुसाउनुपर्छ । पहिलो पहेँलो बिगौती दूधमा शिशुको वृद्धि विकासका लागि आवश्यक पौष्टिक तत्व प्रशस्त पाइन्छ, जसले गर्दा शिशुमा कुपोषणलगायत समस्या देखिँदैन ।
स्तनपान गराउँदा बच्चालाई मात्र नभएर आमालाई पनि फाइदा हुन्छ । नियमित स्तनपान गराउने आमाले गर्भान्तरका लागि औषधि सेवन गर्नु नपर्ने विभिन्न अध्ययनले देखाएको छ । नियमित ६ महिनासम्मको स्तनपानले गर्भान्तर ९८ प्रतिशत हुन्छ । यस्तै स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप २ र सुत्केरीपछिको मोनोरोगको सम्भावना न्यून हुने चिकित्सकहरु बताउँछन् ।
स्तनपान सुधारमा सरकारको लगानी
स्तनपान सप्ताहका संयोजक मुकुन्दराज गौतमले नेपालमा स्तनपानको सुधार र जनचेतनाका लागि सरकारले आर्थिक तयारी नगरे पनि विभिन्न संघ–संस्थाको सहयोगमा योजनाबद्ध रुपमा लागिएको बताए । ‘स्तनपान सप्ताह सफल पार्न सबै स्वास्थ्य कार्यालयमा सर्कुलर जारी गरेका छौं,’ उनले भने, ‘युनिसेफ, एचसीआई, विश्व स्वास्थ्य संगठनलगायतले सम्पूर्ण सहयोग गरेका छन् ।’
पूर्ण स्तनपानको अवस्था नेपालमा ६० प्रतिशत कटेको छैन । स्तनपानलाई पूर्ण रुपमा सफल बनाउन सबै क्षेत्रको उत्तिकै भूमिका रहने संयोजक गौतमले बताए । नेपालमा कुनै पनि किसिमका शिशु तथा बालबालिकाको लागि प्रयोग हुने दूध बेच्न कानुनले वर्जित गरेको छ ।
स्वास्थ्य विभागमा स्तनपान कक्ष सञ्चालन
विश्व स्तनपान सप्ताहका अवसरमा स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष सुरु गरिएको संयोजक गौतमले जानकारी दिए । विभागमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेल, विभागका महानिर्देशक डा. गुणराज लोहनी र युनिसेफ नेपालका प्रतिनिधि टोमो होजुमीले संयुक्त रुपमा बुधबार स्तनपान कक्षको उद्घाटन गरे । स्तनपान कक्षमा एकपटकमा दुईजना महिलाले स्तनपान गराउन सक्नेछन् ।
स्तनपानबारे केही तथ्य
१. स्तनपान सप्ताह १९९० बाट सुरु भएको हो ।
२. सन् २०१६ को तथ्यांकअनुसार विश्वका करिब डेढ अर्ब पाँच वर्षमुनिका बालबालिका बामपुड्के, ५२ करोड लुरे र ४१ करोड कुपोषणयुक्त छन् ।
३. विश्वमा कुपोषणका कारण ४५ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ ।
४. विश्वमा ६ महिनाका शिशुमध्ये ४० प्रतिशतले मात्र प्रचुरमात्रामा स्तनपान गर्न पाउँछन् ।
५. २३ महिनासम्म स्तनपान गर्न पाएमा विश्वका पाँच वर्षमुनिका ८ लाख २० हजार बालबालिकालाई बचाउन सकिन्छ ।
६. २०१६ को नेपाल जनसांख्यिक प्रतिवेदनका अनुसार पाँच वर्षमुनिका ३६ प्रतिशत वामपुड्के, १० प्रतिशत लुरे, २७ प्रतिशत कम तौल र २४ प्रतिशतमा जन्मँदा कम तौल भएको पाइएको थियो ।
प्रकाशित समय : २२:५७ बजे


















