गृहपृष्ठ असदकालीन पूर्व मुफ्तीलाई आजीवन कारावासको सजाय
असदकालीन पूर्व मुफ्तीलाई आजीवन कारावासको सजाय
सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर असदको शासनकालका पूर्व ग्रान्ड मुफ्ती अहमद बद्रेद्दिन हसनलाई हिंसा भड्काएको र हत्यालाई उचित ठहर गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ । असद शासनका उच्च अधिकारीमाथि नयाँ सरकारको कानूनी कारबाहीअन्तर्गत यो पछिल्लो महत्त्वपूर्ण फैसला हो ।
दमास्कसको चौथो फौजदारी अदालतका प्रमुख न्यायाधीश फखरेद्दिन अल–आर्यनले हसन नेतृत्वको तत्कालीन धार्मिक प्रतिष्ठानले नागरिक क्षेत्रमा ब्यारेल बम प्रयोग र व्यापक विनाशलाई न्यायोचित ठहर गरेको बताए । अदालतले यस्तो कार्य अन्तर्राष्ट्रिय मानवीय कानूनविपरीत भएको ठहर गरेको छ ।
सन् २००५ देखि २०२१ सम्म ग्रान्ड मुफ्ती रहेका हसन असदका निकट समर्थक थिए । उनले सरकारका नीतिको सार्वजनिक रूपमा समर्थन गर्दै आएका थिए । फैसला सुनाउँदा उनि हिरासतमा रहेको र अदालतमा उपस्थित भएका थिए ।
असद र उनका भाइ माहेर असदसहित शासनकालका अन्य वरिष्ठ अधिकारीलाई पनि पछिल्ला सातामा कडा सजाय सुनाइएको छ । तीमध्ये धेरैलाई अनुपस्थितिमै मृत्युदण्डको फैसला गरिएको छ ।
हसनविरुद्धको मुद्दा हतारमा अघि बढाइएको र निष्पक्ष सुनुवाइको पर्याप्त सुनिश्चितता नभएको भन्दै केही मानव अधिकार संस्थाले चिन्ता व्यक्त गरेका छन् । तर असद शासनको दमनबाट पीडित धेरै सिरियालीले फैसलाको स्वागत गरेका छन् ।
सन् २०११ मा सुरु भएको सरकारविरोधी प्रदर्शनमाथि भएको कठोर दमन गृहयुद्धमा परिणत हुँदा करिब १४ वर्षमा पाँच लाख मानिसको मृत्यु भएको अनुमान छ । युद्धका कारण युद्धपूर्व करिब दुई करोड ३० लाख जनसङ्ख्याको आधाभन्दा बढी विस्थापित भएका थिए ।
डिसेम्बर २०२४ मा इस्लामवादी नेतृत्वको विद्रोही समूहको आक्रमणपछि असद सत्ताच्युत भएका थिए । त्यसयता नयाँ सरकारले असद शासनसँग सम्बन्धित अधिकारीविरुद्ध कानूनी कारबाही अघि बढाउँदै आएको छ ।
प्रकाशित समय : १६:३४ बजे


















