गृहपृष्ठ चीनसँग भएका सझदारीलाई शीघ्र अघि बढाइन्छ : प्रधानमन्त्री
चीनसँग भएका सझदारीलाई शीघ्र अघि बढाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा भएका सझदारीलाई परिपक्व ढंगले ‘शीघ्र’ अघि बढाईने बताएका छन् । आईताबार विहान स्वदेश फर्किएलगतै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले नेपाल र चीनबीच भएका सझौता शीघ्र अघि बढाइने बताएका हुन् ।
चीनसँग १४ वटा महत्वपूर्ण सम्झौता भएको जानकारी दिएका प्रधानमन्त्रीले त्यसलाई कार्यान्वयनमा शीघ्र अघि बढाइने बताएका हुन् । ‘पारवहन र यातायात सम्बन्धी कुरा अगाडि बढेको छ’ प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग भने, ‘परिपक्व ढंगले पारवहनको कामलाई अगाडि बढाइने छ ।’
रेलवे नयाँ प्रयोग र नयाँ उपलब्धि भएको दावी गर्दै प्रधानमन्त्री ओलीले रेलमार्ग बन्न केही समय लाग्ने जानकारी दिए । ‘नेपालसम्म रेल पुर्याउन चीन तयार छ’ उनले भने, ‘फिजिविलिटी अध्ययनपछि लगानीको विषय टुङ्गो लाग्छ । ’
पारवहन सम्झौतामा हस्ताक्षर हुन नसकेको विषयमा जानकारी दिँदै प्रधानमन्त्रीले तयारी नपुगेका कारण उक्त सम्झौतामा हस्ताक्षर हुन नसकेको बताए । ‘अहिले तयारी नपुगेर पारवहन प्रोटोकल सझौता हुन सकेन’ उनले भने, ‘जुलाईभित्र द्वीपक्षीय छलफलबाट पारवहन सम्झौताको प्रोटोकल टुङ्गो लाग्ने छ ।’
प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको दावी गरे । चीन जानुभन्दा अघि आफूले गरेको प्रतिवद्धताभन्दा बढी उपलब्धि भएको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे । प्रधानमन्त्री ओलीका अनुसार नेपालको विकासका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ सकारात्मक रहेका छन्, र उनी उपयुक्त समयमा नेपाल आउने छन् ।
पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको उपलब्धि बुंदागत रुपमा प्रस्तुत गरेका थिए । चीनको ६ दिने औपचारिक भ्रमण सकेर ओली आईतबार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिक्ष्ट कक्षमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए ।
प्रकाशित समय : १८:३९ बजे


















