उपेन्द्र यादव पनि प्रचण्डकै लाइनमा
वि.सं.२०७५ जेठ २६ शनिवार २२:५९
shares

पोखरा- संघीय समाजवादी फोरम पनि प्रत्यक्ष राष्ट्रपतिको पक्षमा देखिएको छ । फोरम अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले चाहेमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका हुन् ।
‘नेकपा र फोरम मिल्दा दुई तिहाई पुग्छ,’ शनिबार पोखरामा सञ्चारकर्मीसँग उनले भने, ‘त्यसो भएकाले कम्युनिस्टले चाहे संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ ।’ फोरम नेपालले चाहेको पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै रहेको उनले प्रस्ट पारे ।
यद्यपि, नेपालका कम्युनिस्टमा कम्युनिस्ट चरित्र नभएकाले विश्वास गरिहाल्न नसकिने उनको भनाइ छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले लोकतन्त्रलार्इ धरापमा नपार्ने बरू झन् बलियो बनाउने उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले बताए । पार्टी एकताका लागि फोरम तयार भए पनि नेकपाले कम्युनिस्ट शब्द छाड्नुपर्ने उनले प्रस्ट पारे ।






















