global ime bank Long Banner Ad

गृहपृष्ठ छरुवा धानखेतीप्रति किसानको आकर्षण

छरुवा धानखेतीप्रति किसानको आकर्षण

छरुवा धानखेतीप्रति किसानको आकर्षण

थोरै मेहनतमा धेरै उत्पादन लिन सकिने भएपछि कञ्चनपुरस्थित बेलौरीका किसान छरुवा धानखेती प्रविधि अपनाउन थालेका छन् । समयमै वर्षा नहुँदा धान रोपाँई गर्न ढिलो भई उत्पादनमा ह्रास आउने समस्याबाट छुटकारा पाउन किसानले छरुवा धानखेती प्रविधिलाई अपनाएका हुन् ।

डेढ बिघा खेतमा चार वर्षदेखि छरुवा विधिबाट धानखेती गर्दै आएका बेलौरी नगरपालिका–६ का खडक चौधरी रोप्ने विधिभन्दा छरुवा धानखेती प्रविधिबाट बढी उत्पादन लिन सकिने बताउँछन् । बेर्ना जोगाउन धौ–धौ पर्ने तथा मजदूर नपाउँदा रोपाइँ गर्न ढिलो हुँदा चाहेजस्तो उत्पादन लिन नसकिने उनले बताए ।

खेतमा चिस्यान कायम गर्न एकपटक सिँचाइ गरी दुईपटक खेतलाई जोतेर सिडड्रिलको सहायताले एकैसाथ मल र बीउ छरेर खेती गर्दा लागत खर्च कम लाग्ने र उत्पादनमा वृद्धि हुने चौधरीको भनाइ छ । जिरो टिलेज प्रविधिमा आधारित भई छरुवा धान प्रविधि अपनाउँदा झारपातको समस्या देखिन थालेपछि दुईपटक जोतेर किसानले छरुवा धान विधिलाई अपनाउन थालेका हुन् । ‘छरुवा प्रविधि अपनाई खेती गर्दा खर्च कम आउने गरेको छ’ उनले भने ।

छरुवा विधिमा बढी उत्पादन दिने बिआर ११३, राधा ४ र सुक्खा धानको खेती किसानले गर्दै आएका छन् । कृषि विकास शाखाका प्राविधिक हरिश सेटीका अनुसार बीउ, मल र विषादी अनुदानमा उपलब्ध गराइदै आएको छ ।

अनुदान पाएपछि किसान उत्साहीत

लालझाडी गाउँपालिका कार्यालयले व्यावसायिक खेती गर्न आधुनिक कृषि उपकरण र अनुदान उपलब्ध गराएपछि किसान उत्साहित बनेका छन् । उखु, बगरखेती र व्यावसायिक तरकारी खेती गर्न उनीहरु उत्साहित देखिएका हुन् ।

लालझाडी गाउँपालिका– ३ का रामप्रसाद चौधरीले अनुदान पाएपछि दोदा नदीको डेढ बिघा जग्गामा लौका, फर्सी, काँक्रा, तरभुजालगातका तरकारी रोपेर तीन महिनामा दुई लाख ५० हजार आम्दानी गर्न सफल भए । कृषि शाखाले बगरमा व्यावसायिक तरकारी खेती गर्ने २० किसानलाई तालिमसँगै एक लाख अनुदान उपलब्ध गराएको थियो ।

लालझाडी गाउँपालिका– ६ की गौरीदेवी चौधरीले पाँच कट्ठा जग्गामा तरकारीखेती गरी एक लाख ६० हजार आम्दानी गरिन् । अनुदान पाएपछि उनले बाह्रैमास तरकारी फलाउन थालेकी छिन् । गाउँपालिकाको कृषि शाखाका प्रमुख एकराज वलीका अनुसार कार्यालयले रु ५० लाख ७१ हजार परिचालन गरेको छ ।

(रासस)

प्रकाशित समय : २१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु