global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिशूली-काठमाडौं भूमिगत प्रसारणलाइन ४८ प्रतिशत सम्पन्न

त्रिशूली-काठमाडौं भूमिगत प्रसारणलाइन ४८ प्रतिशत सम्पन्न

त्रिशूली-काठमाडौं भूमिगत प्रसारणलाइन ४८ प्रतिशत सम्पन्न

 

नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली-काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइनको मातातीर्थमा निर्माण हुने १ हजार ३ सय ९ मिटर भूमिगत लाइनमध्ये ६ सय ३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय र  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । निर्माणका लागि अहिले २ सय ७० श्रमिक परिचालित छन् ।

रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजना स्थलबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए ।
‘स्थानीयलाई मिलाउँछौं, गृहमन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौं, रुख कटानमा रहेको समस्या समाधान गछौं,’ मन्त्री पुनले भने, ‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नुपर्छ ।’

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६ सय ८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारणलाइनको रुट केही परिवर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर ३ सय ३६ मा सीमित भएको छ । रुख कटान स्वीकृतिका लागि फाइल वन विभागमा पुगेको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुनः पेस गर्नुपरेको आयोजनाले जनाएको छ । काट्नुपर्ने रुखमा टाँचा लगाइसकिएको छ ।

भूमिगत लाइनका लागि सडक खनिएकाले बर्खाका बेला हिलो भएको भन्दै स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् । प्रसारणलाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली ए को विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली ए को निर्माण पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

त्यसैले पनि प्रसारणलाइन सोही अवधिभित्र बनाइसक्नुपर्ने दबाब छ । ४५ किलोमिटर प्रसारणलाइनको १ सय ४० वटा टावरमध्ये १ सय २७ वटाको जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए ।

यो प्रसारणलाइन त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारणलाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र  चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा बनिरहेको छ ।

 

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु