गृहपृष्ठ सुरुङ खन्ने क्रममा चारजनाको मृत्यु
सुरुङ खन्ने क्रममा चारजनाको मृत्यु
अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा चारजनाको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिका फ्याक्सिन्दामा सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना कामदारको मृत्यु भएको छ ।
नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर दुई नेपाली र दुई भारतीय कामदारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए ।
ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्दननाथ नगरपालिका–१ का प्रेम परियारको मृत्यु भएको छ । भारत झारखण्डका बुधन मुण्डा र विहारका नन्द किशोरको पनि सोही घटनामा परी मृत्यु भएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए ।
घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सारुमगरले बताए । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थलमा लगिसकिएको छ ।
(रासस)
प्रकाशित समय : १७:४३ बजे


















