गृहपृष्ठ आइसल्याण्ड लयमा छ, अर्जेन्टिना ढुक्क छ
आइसल्याण्ड लयमा छ, अर्जेन्टिना ढुक्क छ
विश्वकप फुटबलमा ग्रुप ‘डी’ अन्तर्गत आज नवप्रवेशी आइसल्याण्डले फुटबल शक्ति राष्ट्र अर्जेन्टिनाको सामना गर्दैछ । विश्वकपमा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै फुटबल स्टार लियोनल मेस्सीको टोली अर्जेन्टिनाको सामना गर्न लागेको हो ।
रुसको राजधानी मस्कोमा नेपाली समयअनुसार साँझ ६ः४५ मा सुरु हुने खेलमा दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई पञ्छाउन आइसल्याण्डका लागि कठिन हुनेछ । यद्यपि, पछिल्लो समय आइसल्याण्ड राम्रो लयमा देखिएको छ । आजको खेलमा पनि त्यो लयलाई कायम राख्न सके मेस्सीको टिममाथि हाबी हुन सक्ने विश्वास आइल्याण्डका समर्थकको छ ।
आइल्याण्डको प्रदर्शन कस्तो छ ?
दुई वर्षअघि युरोपियन च्याम्पियनसिपको पहिलो सहभागितामै फुटबलका शक्ति राष्ट्रलाई पाखा लगाएको आइसल्यान्डले अर्जेन्टिनालाई स्तब्ध पारेमा आश्चर्य मान्नुपर्ने छैन ।
अग्ला कद र एयर बल खेल्ने क्षमता भएका खेलाडी आइसल्यान्डसँग छन् । यस्ता खेलाडीको प्रहार अर्जेन्टनाका गोलकीपर निकोलस ओटामेन्डी र मार्कुस रोहोलाई पेचिलो बन्न सक्छ । घुँडाको चोटका कारण मैदान बाहिर रहेका आइसल्याण्डका मिडफिल्डर गिल्फी सिगुर्डसन गएको हप्ता घानासँगको मैत्रीपूर्ण खेलबाट मैदान फर्किएका छन् ।
प्रशिक्षक हेमिर हालग्मिसनले युरोकपको सफलता भन्दा पनि अब विश्वकप आइसल्याण्डको फुटबल इतिहासमा ठूलो खेल रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेस्सीलाई लिएर मसँगै कुनै जादुमयी फर्मुला छैन । उनका विरुद्ध सबैले सबैथोक प्रयास गरिसकेका छन् र उनी जहिले पनि गोल गर्न सफल भएका छन् । उनी विश्वका सर्वोत्कृष्ट खेलाडी मध्ये एक हुन् ।’
आइसल्याण्ड युरोकप २०१६ को टिम अफ द टुर्नामेन्टको रुपमा लिइएको टिम हो । अब उसले मेस्सीविरुद्ध खेल्दैछ र कसरी प्रस्तुत हुनेछ भन्ने सबैको चासोको विषय बनेको छ । अर्जेटिनाको रक्षापंक्तिमा रहेको कमजोरीलाई आइसल्याण्ड हतियार बनाउन चाहान्छ ।
युरोकप २०१६ मा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलविरुद्ध १–० ले पछि परेको स्थितिमा उत्कृष्ट पूनरागमन गर्दै आइसल्यान्डले खेललाई १–१ को बराबरीमा रोकेको थियो । दोस्रो खेलमा हंगेरीसँग १–१ को बराबरी खेलेको आइसल्यान्डले अन्तिम खेलमा अस्ट्रियालाई २–१ ले पाखा लगायो र नकआउट चरणमा अटायो । अन्तिम १६ मा इङल्यान्डलाई २–१ ले स्तब्ध पार्दै आइसल्यान्डले क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो । तर, युरोपियन च्याम्पियिनसिपमा गरेको प्रदर्शनकै आधारमा आइसल्यान्डलाई अर्जेन्टिनाजस्तो टिमलाई हराउँछ भन्नु हतार हुने खेल विश्लेषकहरु बताउँछन् ।
अर्जेन्टिनी टोली कस्तो छ ?
अर्जेन्टिनाले १७ पटक विश्वकप खेल्दैछ र यो लगातार १२ औँ सहभागिता हो । उसले विश्वकपमा समूह चरणमा पछिल्लो पटक भएका १५ मध्ये १२ खेल जितेको छ । यस्तै पछिल्ला तीन विश्वकपमा ऊ हरेक पटक समूह चरणमा आफ्नो समूहको विजेता बनेको छ ।
अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले एक दिनअघि नै आइल्याण्डसँग खेल्ने लाइन अपको घोषणा गरेका छन् । अर्जेन्टिनाको अग्रस्थानमा मेस्सी र सर्जियो अग्युरो हुनेछन् । सन् २००६ र २०१० को विश्वकपमा क्वार्टरफाइनलबाट अघि बढ्न नसकेको अर्जेन्टिनालाई ब्राजिल विश्वकपमा जर्मनीले फाइनलबाट घर फर्काइदिएको थियो । १–० ले हारेपछि अर्जेन्टिना उपविजेतामा सीमित भएको थियो ।
त्यसो त, सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पेनाल्टी सुटआउटमा पुगेर हार्नुपरेको पीडा पनि अर्जेन्टिनीसँग छ ।
त्यसैले यसपटक अर्जेन्टिना आफूलाई बलियो दाबेदारका रुपमा उभ्याउन चाहान्छ । त्यसका लागि आफ्नो पहिलो खेलमा ऊ फराकिलो जित हात पार्न चाहान्छ । ब्राजिल विश्वकपमा पनि अर्जेन्टिनाले नयाँ टोली बोस्नियाको सामना गर्नुपरेको थियो । त्यतिबेला बोस्नियामाथि अर्जेन्टिनाले २–१ गोलको कठिन जित निकालेको थियो । क्लब फुटबलमा सबै किसिमको उपाधिकाे स्वाद चाखिसकेको मेस्सी एकपटक अन्तर्राष्ट्रिय उपाधिका स्वाद लिन चाहान्छन् । मेस्सी यहि जुन २४ मा ३१ वर्ष पुग्दैछन् । यसको अर्थ यो विश्वकप उनको अन्तिम हुन सक्छ र अर्जेन्टिनाबाट उपाधि जित्ने मौका स्वभाविक रुपमा अन्तिम नै हुन्छ । पाँच पटकका विश्व वर्ष खेलाडी मेसीले अहिलेसम्म आफ्नो मुलुकलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन सकेका छैनन् । मेस्सीले विश्वकप छनौट चरणमा अर्जेटिनाका १९ मध्ये सात गोल गरेका छन् । त्यसमा छनौटका लागि महत्वपूर्ण इक्वेडरसँगको अन्तिम खेलमा गरेको ह्याट्रिक पनि छ ।
सन् १९८६ पछि पहिलो पटक विश्वकप जित्ने अर्जेन्टिनाको सपना पूरा गर्न सक्ने बलियो आधारका रुपमा मेस्सीलाई नै हेरिएको छ । मेस्सी बिनाको अर्जेन्टिना गएको मार्चमा स्पेनसँगको मैत्रीपूर्ण खेलमा ६–१ ले पराजित भएको थियो । तर उसले मेस्सीको ह्याट्रिकमा हाइटीसँगको मैत्रीपूर्ण खेलमा ४–० को जित निकाल्यो ।
अर्जेन्टिना र आइसल्याण्डबीच अहिलेसम्म भेट भएको छैन । आइसल्याण्ड विश्वकपमा पहिलो पटक आएकाले स्वभाविक हो, विश्वकपमा भेट हुन त कुरै भएन । त्यसैले आजको खेलमा दुवै टिमका लागि नयाँ अनुभव हुनेछ । अर्जेन्टिना विश्वकपको समूह चरणमा युरोपियन प्रतिस्पर्धीसँगका पछिल्ला सात खेलमा एक खेलमा मात्रै पराजित भएको छ । उसले चार खेल जितेको छ भने दुईमा बराबरी खेलेको छ ।
३ लाख ३४ हजार जनसंख्या रहेको आइसल्याण्डका स्टार खेलाडी गिल्फी सिगुर्डसन हुन् । उनले विश्वकप छनौटका १० खेलमा चार गोल गरेका छन् ।
प्रकाशित समय : १८:१६ बजे


















