गृहपृष्ठ एसियाड प्याराग्लाइडिङ टोली इण्डोनेसियाका लागि प्रस्थान
एसियाड प्याराग्लाइडिङ टोली इण्डोनेसियाका लागि प्रस्थान
इण्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखराबाट प्रस्थान गरेको छ ।
पोखराबाट जान लागेको टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकलगायतले विदाई गरेका थिए ।
पहिलो पटक एसियाली खेलमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागीता जनाउनेमा नेपालका ५ पुरुष र ३ महिला खेलाडीहरु छन् । नेपाली प्याराग्लाइडिङ टिममा सहभागिता जनाउन लागेका सबै खेलाडी कास्कीका हुन् । टिममा कान्छा उमेरका १६ वर्षिय खेलाडी युकेश गुरुङ पनि छन् ।
नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका लागि भिड्ने छन् । प्याराग्लाइडिङ नेपालले पदकको सम्भावना राखेको खेल हो ।
मंगलबार प्रस्थान गरेका खेलाडीहरुमा विमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम र महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् । टिमसँग प्रशिक्षक योगश भट्टराई पनि सँगै प्रस्थान गर्दै छन् ।
नेपाली टिम इण्डोनेसियाको राजधानी जर्काताबाट २ सय किलोमिटर टाढा पुनचाक् भन्ने स्थानमा पुग्ने प्रशिक्षक भट्टराईले बताए । नेपाली टिम थप प्रशिक्षणका लागि एक साता अघि नै इण्डोनेसिया जान लागेको हो । ‘प्याराग्लाइडिङमा खेल आयोजना हुने स्थानको हावाको चाप लगाएतले पनि प्रभाव पार्ने हुनाले खेलाडीलाई त्यहाँ अभ्यस्त बनाउन एक साताअघि नै जान लागेका हौं’ प्रशिक्षक भट्टराईले भने ।
नेपाली टिमका व्यवस्थापक शैलेन्द्र राउत र अर्का प्रशिक्षक सानुबाबु सुनुवार भने एक सातापछि त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ । प्याराग्लाइडिङ खेल अगस्त १८ देखि ३० गते सम्म आयोजना हुँदैछ ।
प्रकाशित समय : ००:३२ बजे



















