काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घरेलु मैदानमै कर्णालीको कमजोर प्रदर्शन, चार विधामा निराशाजनक नतिजा

546
shares

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवाती दुई दिनमै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको कर्णाली प्रदेशले निराशाजनक प्रदर्शन गरेको छ । पाँच विधाका खेल सञ्चालन भइरहँदा कर्णाली सहभागी चार विधामध्ये कुनैमा पनि अपेक्षित नतिजा निकाल्न सकेको छैन । टेनिसमा भने कर्णाली सहभागी छैन ।

पहिलो र दोस्रो दिन कर्णालीले पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेटमा पराजय बेहोरेको छ । पौडीमा पनि कर्णालीले पदक जित्न सकेको छैन। घरेलु मैदान र दर्शकको साथ हुँदाहुँदै पनि प्रतिस्पर्धी टोलीका चुनौतीको सामना गर्न कर्णाली कठिनाइमा देखिएको छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् । सुरुवाती चरणमा विभागीय टोलीसँगै अन्य प्रदेशले पनि बलियो उपस्थिति देखाएका छन् ।

फुटबलमा पुलिससँग पराजित हुँदै कर्णालीको सुरुवात

पहिलो दिन कर्णालीले पुरुष फुटबलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गरेको थियो । कर्णाली प्रादेशिक रंगशालामा भएको उद्घाटन खेलमा पुलिसले घरेलु टोलीलाई २–० गोलले पराजित ग-यो ।

सुरुवातदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो हाफमै दुई गोल ग-यो। धिरेन्द्र शाहले ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने सुजन मगरले ४६औँ मिनेटमा अर्को गोल थपे ।

दोस्रो हाफमा कर्णालीले खेलमा फर्कन प्रयास गरे पनि गोल गर्न सकेन । खेलमा पुलिसका एक र कर्णालीका दुई खेलाडीले पहेँलो कार्ड पाए ।

महिला क्रिकेटमा कोशीसँग ४९ रनको हार

महिला क्रिकेटमा पनि कर्णालीले घरेलु मैदानको फाइदा उठाउन सकेन । बुधबार भएको खेलमा कोशी प्रदेशले कर्णालीलाई ४९ रनले पराजित ग¥यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको योगदानमा निर्धारित ओभरमा १२५ रन बनायो। रुविनाले ५७ बलमा एक छक्का र नौ चौकासहित उक्त रन जोडिन् । काजोल श्रेष्ठले १४, खुसी राजवंशीले १० र लकिता राजवंशीले नौ रन बनाइन् । विमला महला सात र फूलकुमारी राजवंशी छ रनमा अविजित रहे।

कर्णालीका रमा बुढाथोकीले दुई र रविना बुढामगरले एक विकेट लिइन्।

१२६ रनको लक्ष्य पछ्याएको कर्णाली ७६ रनमै अलआउट भयो। शिखा दवाडीले सर्वाधिक २० रन बनाइन् भने सोविका शाहीले १२ र रमा बुढाथोकीले १० रन जोडिन्।

कर्णालीको ब्याटिङ ध्वस्त पार्दै लकिता राजवंशीले चार ओभरमा एक मेडनसहित ५ रन खर्चेर तीन विकेट लिइन्। निशा शाह र एलिशा खादियाले दुई–दुई तथा रुविना क्षेत्री र निरु राजवंशीले एक–एक विकेट लिए। उत्कृष्ट बलिङ गरेकी लकिता प्लेयर अफ द म्याच घोषित भइन्।

बास्केटबलमा पनि पुलिससँग पराजय

महिला बास्केटबलको फुल कोर्ट (५×५) प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले कर्णालीलाई ५२–१९ अंकले पराजित ग-यो। पुलिसकी दिभा महर्जनले २० अंक योगदान गरिन्।

पहिलो क्वार्टरमा पुलिस ०–८ ले पछि परेको थियो। तर दोस्रो क्वार्टरमा २०–३, तेस्रोमा १०–५ र चौथोमा १८–३ को स्कोर गर्दै पुलिसले खेल आफ्नो पक्षमा पा-यो।

यसैबीच, सुदूरपश्चिम प्रदेश महिला बास्केटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। समूह ’बी’ को विजेता बनेको सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले हरायो। सन्जु घिसिङले सुदूरपश्चिमका लागि सर्वाधिक १४ अंक जोडिन्।

थ्री अन थ्री बास्केटबलमा त्रिभुवन आर्मी र बागमती प्रदेशले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। आर्मीले कोशीलाई १३–८ र बागमतीले मधेशलाई ८–३ ले पराजित गरेका हुन्।

फुटबलमा आर्मीको जित, कोशी र बागमती बराबरीमा

पुरुष फुटबलको दोस्रो दिन त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित ग-यो। बुधबार बिहान भएको खेलमा भरत खवासले २३औँ मिनेटमा पहिलो गोल गरे। लाकेन लिम्बुले ५२औँ मिनेटमा दोस्रो गोल थपे। ६४औँ मिनेटमा लुम्बिनीका विकास राईले आफ्नै पोस्टमा गोल गरेपछि आर्मीको ३–० को जित सुनिश्चित भयो।

दोस्रो खेलमा कोशी र बागमती प्रदेशले २–२ को बराबरी खेल्दै अंक बाँडे। बागमतीका एलिक श्रेष्ठले ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई दुई गोलको अग्रता दिलाएका थिए। तर ७५औँ मिनेटमा कोशीका मिलन राईले पेनाल्टीमार्फत गोल गरे र तीन मिनेटपछि पदम भट्टराईले अर्को गोल गर्दै खेल बराबरीमा पु-याए।

तेस्रो दिन बिहीबार पुरुष फुटबलमा कर्णालीले गण्डकी प्रदेशसँग बिहान ९ बजे प्रतिस्पर्धा गर्नेछ। दिउँसो २ः३० बजे एपीएफ र मधेश प्रदेशबीच खेल हुनेछ।

पौडीमा बागमतीको वर्चस्व

बाँकेको नेपालगन्जमा सम्पन्न पौडी प्रतिस्पर्धामा बागमती प्रदेशले सर्वाधिक १९ पदक जित्यो। मंगलबार र बुधबार भएका प्रतिस्पर्धामा बागमतीले नौ स्वर्ण, चार रजत र छ कास्य जितेको हो।

नेपाल पुलिस क्लब तीन स्वर्ण, सात रजत र आठ कास्यसहित १८ पदक जितेर दोस्रो स्थानमा छ। त्यति नै पदक जितेको त्रिभुवन आर्मी क्लब दुई स्वर्ण, आठ रजत र आठ कास्यसहित तेस्रो स्थानमा रहेको छ।

एनआरएनएले छ स्वर्ण, एक रजत र दुई कास्यसहित नौ पदक जितेर चौथो स्थान हासिल गरेको छ। सुदूरपश्चिम र कोशी प्रदेशले क्रमशः एक स्वर्ण र दुई रजत तथा एक स्वर्ण पदक जितेका छन्।

सुरुवाती दुई दिनमा फुटबल, क्रिकेट र बास्केटबलमा हार बेहोर्नुका साथै पौडीमा पदकविहीन बनेपछि सहआयोजक प्रदेशको प्रदर्शनमाथि प्रश्न उठेको छ। बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्दै पदक तालिकामा उपस्थिति जनाउनु कर्णालीका लागि चुनौती बनेको छ।