गृहपृष्ठ रुपन्देहीका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी
रुपन्देहीका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी सुरु गरेको छ । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको तिलोत्तमाले वडा नं. ७ स्थित सेमरा बजार माविबाट विद्युतीय हाजिरी सुरु गरेको हो ।
विद्युतीय हाजिरी मेसिन क्रमशः सबै सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ । शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउने उद्देश्यका साथ विद्यालयमा हाजिरीको आधुनिक प्रविधि अपनाइएको नगरपालिकाले जनाएको छ ।
विद्युतीय हाजिरी मेसिन सुभारम्भ कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हाजिरीलाई प्रविधिमैत्री बनाउन यस प्रकारको कार्यक्रम अघि सारिएको बताए । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाले विभिन्न योजना अघि सारेको बताउँदै नगर प्रमुख घिमिरेले विद्यालयहरु प्रविधिमैत्री हुँदा काम छिटो छरितो हुने उल्लेख गरे ।
यो वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको तिलोत्तमा नगरपालिकाले आउँदो तीन वर्षभित्र नगरका सबै सामुदायिक विद्यालयहरूलाई संस्थागत विद्यालयका स्तरमा पु¥याउने लक्ष्य लिएको छ । यही लक्ष्यअनुसार नगरपालिकाले बालविकास कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीहरूलाई दिवा खाजा दिने अभियान सुरू गरेको छ ।
प्रकाशित समय : ००:४४ बजे



















