प्रविधिको प्रयोगमा मोरङमै रंगेली नगरपालिका अगाडि
वि.सं.२०७५ साउन ११ शुक्रवार १८:१३
shares

मोरङका १७ स्थानीय तहमध्ये पहिलोपटक रंगेली नगरपालिकाले साउन १ गतेदेखि नगरपालिका र सबै बडा कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ । नगरपालिकाले जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायतका सबै काम अनलाइनमार्फत कम्प्युटर प्रविधिबाट सुरु गरेको छ ।
त्यसैगरी नगरपालिकाले दस्तुरसमेत कम्प्युटर प्रविधिबाट लिन थालेको छ । यससँगै नगरपालिकाले प्रत्येक दिन कुन वडामा कति राजस्व संकलन भएको छ भन्ने जानकारी लिन सहज भएको छ ।
नगरपालिकाले गत वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता, दलित बालबालिकाको पोषण भत्ता र बाढीपीडितले पाउने रकमका साथै नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतको तलब भत्ता र कर्मचारीको मासिक पारिश्रमिक बैंकिङ प्रणालीबाट दिने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए । ‘बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा राज्यलाई १५ लाख रुपैयाँ बचत भएको छ,’ उनले भने, ‘अबको एक महिनाभित्रमा रंगेली नगरपालिकाका १३ वटै माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी जडान गरिसक्नेछौं ।’

























