दाङमा रगत अभाव
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १४:३०
shares

सारांश
- पछिल्लो समय दाङमा रगत अभाव देखिएको छ ।
- विभिन्न सङ्घसंस्था र रक्तदाताहरुले सामाजिक उत्तरदायित्व सम्झेर रक्तदान गर्नुपर्नेसमेत उनको भनाइ छ ।
- दाङमा थारु समुदायमा देखिने सिकलसेल एनेमिया र थैलेसिमियाजस्ता रोगका कारण पनि रगत खपत निकै उच्च छ ।
दाङ । पछिल्लो समय दाङमा रगत अभाव देखिएको छ । जिल्लाको तुलसीपुर, घोराही र लमहीको रक्तसञ्चार केन्द्रमा रहज रुपमा रगत पाउन मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख विश्राम अधिकारीले जानकारी दिए ।
ती रक्तसञ्चार केन्द्रमा रगत नहुँदा समस्या भएको उनले बताए । “चाडपर्वका समयमा सधैँ नै अभाव हुन्छ, यो वर्ष पनि रगत अभाव भयो, रक्तसञ्चार केन्द्रमा रगत छैन”, उनले भने, “दाता पनि यस्तो बेला भेटाउन गाह्रो हुन्छ ।” विभिन्न सङ्घसंस्थालाई आह्वान पनि रगत सङ्कलन नहुँदा समस्या भएको छ ।
यस्तो अवस्थामा विभिन्न सङ्घसंस्था र रक्तदाताहरुले सामाजिक उत्तरदायित्व सम्झेर रक्तदान गर्नुपर्नेसमेत उनको भनाइ छ । “यस्तो समयमा माग झन धेरै हुन्छ”, उनले भने, “तर, अभाव नै हुँदा बिरामीको ज्यान जान सक्छ, यो कुरामा सबैले ध्यान दिनुपर्छ ।”
दाङमा थारु समुदायमा देखिने सिकलसेल एनेमिया र थैलेसिमियाजस्ता रोगका कारण पनि रगत खपत निकै उच्च छ । ती रोगका बिरामीलाई नियमित रूपमा रगत चढाइरहनुपर्ने भएकाले जिल्लाभर वार्षिक रूपमा पाँच हजारदेखि छ हजार युनिटसम्म रगतको माग र खपत हुने गरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रक्तसञ्चार केन्द्रमा सबैभन्दा धेरै अर्थात् वार्षिक तीन हजार ७०० युनिटभन्दा बढी रगत खपत हुँदै आएको छ । यस्तै, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा वार्षिक दुई हजार १०० युनिटभन्दा बढी र लमही क्षेत्रमा करिब एक हजार युनिट रगत खपत हुने गरेको जानकारी दिइएको छ ।

























