गृहपृष्ठ कांग्रेसलाई घुँडा टेकायौं : नेकपा

कांग्रेसलाई घुँडा टेकायौं : नेकपा

कांग्रेसलाई घुँडा टेकायौं : नेकपा

नेकपाका शीर्ष नेताहरुले डा. गोविन्द केसीसँगको वार्ता सफल बनाएर नेपाली काग्रेसलाई घुँडा टेकाएको जिकिर गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले ‘दम्भले भरिएको सरकारले जनतासामु घुँडा टेकेको’ भन्ने टिप्पणी गर्दै गर्दा नेकपाका नेताहरुले कांग्रेसले भाँड्न खोजेको वार्ता सफल बनाएको दावी गर्दै उसलाई घुँडा टेकाउन सफल भएको जिकिर गरेका हुन् ।

‘दम्भ र अहंकारको सिंहासनमा बस्नेहरु जनताका सामुन्ने झुक्न बाध्य भए’ भन्दै कांग्रेसका नेताहरुले टिप्पणी गरिरहँदा नेकपाका नेताहरुले सोही जवाफ काग्रेसतिरै फर्काएका छन् । डा. गोविन्द केसीको २७ दिन लामो अनसन तोडिएपछि शुक्रबार बसेको नेकपाको संसदीय दलको बैठकमा शीर्ष नेताहरुले कांग्रेसको अन्तिम अस्त्रलाई असफल बनाएर संसदको सर्वोच्चता कायम राखेको तर्क गरेका छन् ।

बैैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र डा. केसीसँगको वार्ता सफल पार्न मुख्य भूमिका निर्र्वाह गरेका संसदिय दलका उप–नेता सुवास नेम्वाङले बिफ्रिङ गरेका थिए । उनीहरु सबैले देशी–विदेशी शक्तिको चलखेलकाबीच कठिन प्रयासमा वार्तालाई सफल बनाएको धारणा राखेका थिए । संसदको सर्वोच्चता कायम राखेर र मुलुकलाई अस्थिर बनाइराख्ने कांग्रेसको अस्त्रलाई निस्तेज पारेको उनीहरुले सांसदलाई ब्रिफिङ गरे । संसदमा एक दुई जना उभिएर संसद अवरुद्ध हुने र जनताबाट अस्किृति भएकाको चूरुफुरी अन्त्य भएको प्रधानमन्त्री ओलीलले बताएका थिए ।

वार्ता भाँडिए पनि हामी मिलाउनतिर लाग्यौं, कांग्रेस नेताहरु रातभरी नसुतेर भाँड्न तिर लागे, अन्ततः वार्ता मिलायौं, डा. केसीको अनसनको आवरणको ननईस्यु क्लोज गर्न सफल भयौं : प्रधानमन्त्री ओली

‘बुधबार दिउँसोनै सहमति भईसकेको थियो, हस्ताक्षर हुन बाँकी थियो, तर तुरुन्तै कांग्रेसका नेताहरु गएर भाँडिदिए, फेरी सहमति नगराउँने उनिहरुको प्रयास थियो, संसदको सर्वोच्चता कायम राख्न पनि कांग्रेसको अन्तिम अस्त्रलाई असफल बनाएर छाड्यौं,’ प्रधानमन्त्री ओलीको भनाई उध्रित गर्दै एक सासंदले भने ।

बुधबार राति डा. केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्तामा विवेशील साझा र कांग्रेसका नेताहरु प्रवेश गरेर भाँडेपछि मध्यराति आफै डा. केसीसँग वार्ता गर्न गएको उनको भनाई थियो । ‘वार्ता भाँडिएपनि हामी मिलाउनतिर लाग्यौं, कांग्रेस नेताहरुले रातभरी नसुतेर भाँड्न तिर लागे, अन्ततः वार्ता मिलायौं, डा. केसीको अनसनको आवरणको ननईस्यु क्लोज गर्न सफल भयौं,’ ओलीको ब्रिफिङ उध्रित गर्दै ति सांसदहरुले भने ।

बिहिबार वार्ता असफल भएपछि विपक्षीको चलखेलका कारण फेरी राजनीतिक अस्थिरता आउँछ कि भन्ने खतरा प्रधानमन्त्री ओलीको पहलपछि टरेको नेम्वाङले बताए । नेम्वाङका अनुसार बुधबारनै सहमति पत्रमा हस्ताक्षर हुने कुरा थियो । डा. केसीका प्रतिनिधिहरुले सहमति गर्छौं भनेर प्रधानमन्त्री निवास बालुवाटारबाट फर्किएको १५ मिनेटमै कुरा फेरेर सहमति गर्न सक्दैनौं भनेका थिए ।

बैठकमा नेकपाका अध्यक्ष दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाले खुलेआम डा. केसीलाई भड्काउन खाजेको आफूले थाहा पाएको सुनाए । आफुले देउवालाई टेलिफोन गरेर वार्ता सफल बनाउने भूमिका खेलिदिन अनुरोध गरेको सुनाउदै प्रतिउत्तरमा रुखो जवाफ पाएको बताएका थिए । डा. केसीको मुद्दामा प्रतिक्रियावादी शक्तिहरुले नेकपा र सरकारविरुद्ध चलखेल गरेको र अझै अन्त्य नभएको दाहालले बैठकमा बताए ।

 

सशक्त रुपमा प्रस्तुत हुन निर्देशन
यस्तै नेकपाले संसदमा पार्टीको भूमिका कमजोर भएको भन्दै स्पष्ट ढंगबाट प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीले पार्टीले निर्देश गरेका विषय निष्पक्ष तथा स्पष्ट ढंगले संसदमा राख्न सांसदहरुलाई निर्देशन दिए । प्रतिपक्षी दलका केही सांसद विरोधमा उभिँदैमा संसदको काम कारबाही प्रभावित हुन नहुने भन्दै त्यस्तो अवस्था आए सशक्त प्रतिकारमा उत्रन पनि उनले आग्रह गरे ।

प्रतिपक्षी दलहरुले सरकारको कामकारबाहीलाई लिएर जनमानसमा नकारात्मक टिप्पणी बढाउँदै लगेको भन्दै ओलीले आफ्नो योजनामा सरकार नझुक्ने र यस्ता गतिविधिलाई वैधानिक बाटोबाट नियन्त्रण गर्ने उल्लेख गरे । बैठकमा डा. गोविन्द केसीसँग भएको सम्झौताबारे पनि प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए ।

प्रकाशित समय : २३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु