गृहपृष्ठ लगानी गर्न पुँजी छैन भन्ने बैंकले कसरी बढाए नाफा ?
लगानी गर्न पुँजी छैन भन्ने बैंकले कसरी बढाए नाफा ?
वाणिज्य बैंकहरुले धमाधम आर्थिक वर्ष २०७४/७५ को अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । २८ मध्ये नेपाल बैंक, एभरेस्ट, ग्लोबल आइएमई, सिद्धार्थ, एनआइसी एसिया र सिटिजन्स बैंकले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी बैंकले अर्बभन्दा बढी नाफा गरेका छन् । यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । स्मरणीय छ, गत आर्थिक वर्षभर वाणिज्य बैंकहरुले लगानीयोग्य पुँजी (तरलता) संकटले लगानी गर्न नपाएको गुनासो गरेका थिए ।
कुन बैंकको नाफा कति ?
नेपाल बैंक
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका ६ बैंकमध्ये सबैभन्दा बढी नाफा सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले कमाएको छ । यो बैंकले तीन अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशतले बढी हो ।
एभरेस्ट बैंक
नेपाल बैंकपछि धेरै नाफा एभरेस्ट बैंकको देखिएको छ । यो बैंकले दुई अर्ब ७८ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा एभरेस्ट बैंकको नाफा गत आर्थिक वर्षभन्दा निकै कम थियो । अघिल्लो वर्ष बैंकले २ अर्ब २९ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले अघिल्लो वर्षको तुलनामा १७.९० प्रतिशतले नाफा बढाएको हो ।
ग्लोबल आइएमई
आर्थिक वर्ष २०७४/७५ को अन्तिम त्रैमासको वित्तीय विवरण अनुसार नाफा कमाउने बैंकको तेस्रो नम्बर छ, ग्लोबल आइएमई बैंक । यो बैंकले दुई अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष यस बैंकको नाफा १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ थियो ।
सिद्धार्थ बैंक
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार चौथो बढी नाफा कमाउनेमा सिद्धार्थ बैंक छ । सिद्धार्थको नाफा एक अर्ब ८५ करोड रुपैयाँ छ ।
एनआइसी एसिया बैंक
गत आर्थिक वर्षभित्र बढी नाफा कमाउने बैंकको पाँचौं नम्बर एनआइसी एसिया बैंक छ । यो बैंकले एक अर्ब ४९ करोड नाफा गरेको छ । यस बैंकले अघिल्लो वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो ।
सिटिजन्स बैंक
बढी नाफा कमाउने ६ बैंकमध्ये पुच्छरमा रहे पनि सिटिजन्स बैंकको नाफा अघिल्लो वर्षको तुलनामा बढी देखिन्छ । अघिल्लो बर्ष १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको बैंकले गत आर्थिक वर्षमा एक अर्ब २७ करोड नाफा गरेको छ ।
कसरी बढ्यो नाफा ?
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज पौडेलका अनुसार पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारलगायत कारणले बैंकहरु नाफा बढाउन सफल भएका हुन् । यद्यपि, तरलता अभावले सोचेजति नाफा हुन नसकेको उनको भनाइ छ ।
‘व्यवसाय खासै विस्तार हुन सकेन, लगानी बढाउन सकिएन,’ उनले भने, ‘त्यही कारण पनि सोचेभन्दा कम नाफा भयो ।’
वर्षको अन्त्यमा सरकारी खर्च बढेपछि तरलता सहज भएको बैंकहरूले बताएका छन् । गत आवमा बैंकहरुको नाफामा खास संकुचन देखिएको छैन । बैंकहरुको चुक्ता पुँजी बढेकाले पनि नाफा बढ्नु स्वाभाविक भएको बैंकरहरू बताउँछन् ।
बाँकी २२ वाणिज्य बैंकले पनि वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । बैंकलगायत पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष सकिएको १५ दिनभित्र सो वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ । तर, राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेको नयाँ लेखा प्रणाली नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । उक्त मापदण्डअनुसार वित्तीय विवरण सार्वजनिक गर्न समय लाग्ने गरेकाले बैंकहरुले थप १५ दिनको सुविधा पाएका छन् ।
प्रकाशित समय : ००:५१ बजे



















