गृहपृष्ठ कार्यकाल सकिएकै दिन नेविसंघलाई कांग्रेसको निर्देशन
कार्यकाल सकिएकै दिन नेविसंघलाई कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेपाल विद्यार्थी संघलाई तीन महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ । नेविसंघ नेतृत्व तोकिएको अवधिमा महाधिवेशन गराउन असफल भएपछि पार्टीले सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गठन गरेको संयोज समितिले यस्तो निर्देशन दिएको हो ।
समितिको आज बसेकको बैठकले ‘तीन महिनाभित्र महाधिवेशन गर्न र त्यसका लागि भदौ २ भित्र कार्ययोजना पेश गर्न’ निर्देशन दिएको छ ।
‘नेविसंघको विधानमा दुई वर्ष कार्यकाल तोकिएकोमा उक्त अवधिमा महाधिवेशन गराउन नेविसंघको वर्तमान कार्यसमिति सफल हुन सकेन,’ कांग्रेस प्रवक्ता समेत रहेका समितिका सदस्य विश्वप्रकाश शर्माले भने, ‘त्यसकारण कार्यकालको अन्तिम दिन कांग्रेसले तीन महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ, त्यसका लागि माहाधिवेशनको तालिकासहितको कार्ययोजना उहाँहरुले आगामी मदौ २ भित्र ल्याउनुपर्ने हुन्छ ।’
उनले नेविसंघको विधानले नै दुई वर्षभित्र विशेष अवस्थामा महाधिवेशन सम्भव नभए तीन महिना थप समय जानसक्ने व्यवस्था गरेकाले त्यही आधारमा निर्देशन दिएको जानकारी दिए । पार्टीले गठन गरेको संयोजन समितिमा प्रवक्ता विश्वप्रकाश शर्मासहित केन्द्रीय सदस्यहरु नविन्द्रराज जोसी, गगन थापा, किशोरसिंह राठौर, गुरु घिमिरे, प्रदीप पौडेलसहितका नेताहरु सहभागि छन् ।
तीन महिनामा पनि महाधिवेशन गर्न नसके वर्तमान कार्यसमिति विधानतः भंग हुनेछ । नेविसंघ अध्यक्षलाई कार्यसमितिकै सदस्यहरुले भने महाधिवेशन नगरी नेतालाई मानोनयनका लागि ठाउँ दिएर आफू पार्टी नेताको विश्वास लिने रणनीतिमा लागेको अरोप लगाउँदै आएका छन् ।
प्रकाशित समय : ००:२१ बजे



















