यसकारण अनिर्णित हुँदैछ प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाई
वि.सं.२०७५ साउन १३ आइतवार १६:५०
shares

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र पनि विवादमा तानिने देखिएको छ । प्रमाणपत्रमा फरकफरक तथ्याङ्क भेटिएपछि गोपाल पराजुली काण्ड दोहोरीने खतराबाट संसदीय सुनुवाइ समिति झस्किएको छ ।
आज बिहान ८ बजे डाकिएको संसदीय सुनुवाइ समितिको बैठक नबसी भोलीका लागि सारिएको छ ।
शुक्रबार नै समितिको बैठक बसी अनुमोदन गर्ने तयारी थियो । तर विवाद देखिने संभावना देखिएकाले पछि झमेला हुन नदिन प्रधानमन्त्री केपी ओली स्वयम अग्रसर भएका थिए । ओलीले सुनुवाई समितिका पदाधिकारीसंग छलफल गरेका थिए । समितिका जेष्ठ सदस्य एवम् सभापति लक्ष्मणलाल कर्ण, सदस्य योगेश भट्टराई, सुमनराज प्याकुरेलसँग ओलीले छलफल गरेपछि शुक्रबारको सनुवाइ समितिको बैठक रोकिएको थियो । आज बस्ने भनिएको बैठक पनि प्रधानमन्त्री ओलीको निर्देशनमा रोकिएको अनुमान गरिएको छ ।
यसैबीच लगातार बैठक धकेलिएसँगै प्रस्तावित प्रधानन्यायाधीश जोशीको अनुमोदन हुने वा नहुने अझै निश्चित नभएको हो । अनौपचारिक छलफलपछि जोशीबारे निर्णयका लागि संभवत सोमबार दिउँसो बैठक डाकिने छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले अनुमादनका लागि अन्तिम छलफल भइरहेको बताए ।
शैक्षिक योग्यताको विवाद उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको छ । सुनुवाइ समिति सदस्यले जोशीको प्रमाणपत्रबारे नयाँ तथ्य फेला परेको र विवादमा परेकाले बैठक सार्नु उचित हुने मत प्रधानमन्त्रीसँगको छलफलमा राखेका थिए । प्रधानमन्त्री लगायत अरु सदस्यहरुले प्रमाणपत्रबारे थप बुझ्नु उचित हुने बताएका थिए । जोशीको प्रमाणपत्रबारे सांसदहरुले शुक्रबार बिहान नयाँ तथ्य फेला परेको बताएका थिए ।
सनुवाई समितिका सदस्यहरुका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नंम्बर (३६६७) अर्कै व्यक्तिको नाममा भेटिएको छ । एक सांसदका अनुसार अनुसार उक्त सिम्बोल नंम्बर परिक्षा बोर्डमा हेमराज लेकालीको नाममा छ ।
समितिका अर्का सदस्यले भने फेला परेको डकुमेन्ट फोटोकपी भएकाले विश्वास गर्ने कि नगर्ने भन्ने दुविधा उत्पन्न भएको बताए । प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि जोशीको विषयमा डकुमेन्टहरु प्रधानमन्त्रीलाई प्राप्त भएको बताए । जोशी २०२९ सालमा १० कक्षा उत्तीर्ण भएको उल्लेख छ ।
त्यही प्रोग्रेस रिपोर्टको अर्को खण्डमा हाईस्कुल (माध्यमिक तह) पास गरेको विवरण भर्ने क्रममा उनले विजय मेमोरियल हाईस्कुलको नाम लेखेका छन् । पास भएको मिति २०२९ साल र सिम्बोल नम्बर ३६६७ उल्लेख छ । नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्जस्थित प्रधान कार्यालयबाट जारी भएको प्राप्तांक विवरणमा पनि जोशीको सिम्बोल नम्बर ३६६७ नै लेखिएको छ ।

























