सांसदहरुले भने– गृहमन्त्री असफल
वि.सं.२०७५ साउन २८ सोमवार २१:०४
shares

सोमबार व्यवस्थापिका संसदको बैठकमा बोल्ने सांसदहरुले गृहमन्त्री रामबहादुर थापा असफल भएको बताएका छन् । सरकार र गृहमन्त्रीको चर्काे आलोचना भएको उक्त बैठकमा सांसदहरुले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार र गृहमन्त्रालय असफल भएको बताएका हुन् ।
संसद बैठकमा बोल्ने अधिकांश सांसदले गृहमन्त्रीको चर्काे आलोचना गरे । हत्या, अपराध, बलात्कार, वम बिष्फोट भइरहेका घटनाको प्रसँग उल्लेख गर्दै सांसदहरुले त्यस्ता प्रकृतिका घटना रोक्न गृहमन्त्री असफल भएको टिप्पणी गरे । बढ्दो बलात्कारका घटना, अपहरण तथा विराटनगरमा मेयरकै कार्यकक्षमा वम विष्फोट भएको घटनाको उदाहरण दिँदै सासदहरुले सरकारको आलोचना गरे ।
सांसद पवित्रा निरौलाले देशका विभिन्न स्थानमा भईरहेका बलात्कारका घटनाबारे बोल्दै सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाइन् । झापास्थित अर्जुनधारा नगरपालिमा केही दिनअघि १३ वर्षीय बालिका र ४ वर्षीया बालिका वलात्कृत भएको जानकारी गराउँदै निरौलाले वलात्कारीलाई कडा कारवाही गर्ने ऐन ल्याउन माग गरिन् । उनले भनीन्, ‘वलात्कार सभ्य समाजको कलंक हो, वलात्कारीलाई अहिले सजाया धेरै कम भयो, बढाउनु पर्छ ।’
बैठकमा कांग्रेस सांसद संञ्जय गौतमले सरकारले सुशासन भन्दा कुशासन ल्याएको बताए । उनले कञ्चनपुरमा १३ बर्षिय बालिका वलात्कारदेखि भक्तपुरमा ११ वर्षिय बालकको अपरहणपछिको हत्याको प्रसँग कोट्याए । ३३ किलो सुन तस्करीका ठुला तस्कर पक्राउ गर्न नसकेको भन्दै गौतमले गृहमन्त्रीको आलोचना गरे । जहाज खरिद प्रक्रियामा चर्काे अनियमितता भएको प्रसँगमा गौतमले राज्यकोषको अपचलनबारे छानविन गर्न माग गरे ।
यस्तै बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले उखु किसानमाथि शोषण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सरकारले तोकेको भन्दा निकै कम मूल्यमा व्यवावसायीले किनेको र पैसा अझै नदिएको संग्रौलाले बताइन् । देशैभरी रासायनिक मलको अभाव भइरहेको भन्दै उनले तत्काल किसानलाई मल सहज उपलब्ध गराउन माग गरिन् ।
जारी बैठकमा राप्रपा नेता राजेन्द्र लिङदेनले ईन्टरनेटको चर्काे शुल्क अझै कटौती नभएको भन्दै कर घटाउन आग्रह गरेका छन् । संसद बैठकमा धारणा राख्दै उनले शुल्क घटाएको भनिए पनि नघटेको दावी गरे । उनले भने, ‘जनताको चर्काे विरोध भएपछि बढाइएको कर घटाइयो भनियो, तर डाटा प्याक, भ्वाइस प्याकको नाममा चर्काे शुल्क अझै काटिएको छ ।’
राजपाका सांसद महेन्द्र राय यादवले वीरगञ्ज महानगरपालिकामा ६ करोड रुपैयाँ राजश्वमा हिनामिना गरेको आरोप लगाए । १२ करोड रुपैयाँ असुल गर्नु पर्नेमा ६ करोड रुपैयाँ मात्र लिएर बाँकी हिनामिना गरेको उनले बताए । के विषयको कर भन्ने बारे भने उनले खुलाएनन् ।

























