विद्यार्थीकाे अाकर्षण बढाउन संस्कृत माविमा अंग्रेजी पढाइ
वि.सं.२०७५ भदौ १० आइतवार २१:१२
shares

पाल्पाको तानसेनस्थित देववाणी साधारण तथा संस्कृत माविमा यस शैक्षिकसत्रमा संस्कृततर्फ विद्यार्थीको भर्ना नै देखिएन । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले असारमा संस्कृत भाषाका लागि भर्ना आह्वान गरेर प्रचार प्रसार गरे पनि विद्यार्थी भर्नादर शून्य बनेको हो ।
उक्त विद्यालयमा संस्कृत भाषामा अध्ययन अध्यापन हुँदा वि.सं. ०६८ मा विद्यार्थीको संख्या ४२ थियो । माविमा तहमा विद्यार्थी एक सय पनि पुग्न नसक्दा कक्षा सञ्चालनमा समस्या हुँदै आएको थियो ।
वि.सं. ०६८ मा प्रवेशिका परीक्षामा एक विद्यार्थी सहभागी बने पनि उनी उत्र्तीर्ण हुन सकेनन् । न्यून विद्यार्थी र पढाइ राम्रो नभएको भनेर जिल्ला शिक्षा कार्यालयले विद्यालय गाभ्न खोजे पनि स्थानीय बासिन्दा, विद्यालय र जिल्लाबासीको पहलमा रोकिएको थियो ।
संस्कृत विद्यालयलाई वि. सं. २०६९ मा देववाणी साधारण तथा संस्कृत माविको रुपमा विस्तार गरिएपछि विद्यालयले गति लियो । साधारण बनाइएपछि अंग्रेजी माध्यममा पढाइ हुन थालेकाले विद्यार्थीको संख्या पनि बढदै गएको हो ।
विद्यालयका तत्कालिन प्राधनाध्यापकदेखि शिक्षकले आफ्ना बालबालिका यस विद्यालयमा भर्ना गरे । आफूहरुले विद्यालय भर्नाका लागि घरदैलो कार्यक्रमसमेत सञ्चालन गरेकाले पहिलो वर्ष नै एक सयको हाराहारीमा विद्यार्थी भर्ना गर्न सफल भएकोे प्राधनाध्यापक कृष्ण थापाले बताए ।
अंग्रेजीमा पढाइ
२०६९ मा कक्षा एकदेखि आठसम्म अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न थालेपछि विद्यार्थी संख्या विस्तारै बढेको हो । अहिले कक्षा १० सम्ममा नेपाली, सामाजिक, नैतिक शिक्षा नेपाली भाषामै पढाइ हुने गर्दछ । अन्य विषय भने अंग्रेजीमा पढाउने, नेपालीमा बताउने र अंग्रेजीमा लेखाउन सिकाउने गरी पठनपाठन शुरु गर्दा पहिलो वर्ष नै कक्षा १० मा ४० विद्यार्थी भर्ना भएका थिए ।
२००९ मा स्थापित सो संस्कृत माविमा पछि अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि सबैको आकर्षणको केन्द्र बनेकाले अहिले उक्त विद्यालयमा ३०७ विद्यार्थी अध्ययनरत् छन् । २०६८ फागुन १ गते किसान मावि झडेवाबाट शेषनाराण चालिसे र प्रभात मावि पालुङमैनादीबाट कृष्ण थापा सरुवा भएर देववाणी आएपछि विद्यालयमा सुधार भएको बताइन्छ । कक्षा १० का आयुश खनालले नेपालीभन्दा अंग्रेजीमा पढ्न सजिलो हुने बताए । नेपालीमा लेख्न कठिन हुने अंग्रेजीमा पढ्न र लेख्न सजिलो हुने उनको भनाइ छ ।
संस्कृतमा शून्य
पछिल्ला वर्षमा संंस्कृत भाषाप्रति विद्यार्थीको रुचि देखिएको छैन । २०६८ पछि संस्कृत विषय अध्ययनका लागि विद्यार्थी भर्ना भएका छैनन्् । विद्यालय साधारण माविमा बदलिएपछि ऐच्छिक विषयका रूपमा संस्कृत मात्र पढाइ हुने शिक्षक शेषनारायण चालिसेले बताए । शिक्षा विकास तथा समन्वय एकाइले संस्कृत विषयमा विद्यार्थी भर्नाका लागि सूचना जारी गर्दा पनि विद्यार्थी भर्ना भएनन् ।
शैक्षिक सत्र २०७५ मा संस्कृततर्फ कक्षा सञ्चालन गर्न कम्तीमा १० कक्षागत विद्यार्थीको भर्ना विवरणसहित शिक्षक व्यवस्थान गर्नका लागि अनुरोध गरिएको उक्त एकाइका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए । जिल्लाका रेडियो तथा पत्रपत्रिकामार्फत सार्वजनिक सूचना गरिए पनि संस्कृत पढ्न कसैले पनि रुचि देखाएनन् । भर्ना आह्वान गरिएको अवधि र त्यसभन्दापछि पनि संस्कृतका लागि कोही पनि विद्यार्थी भर्ना हुन नआएको प्राधनाध्यापक कृष्ण थापाले बताए ।
सुधार
२०७४ को एसइई परीक्षामा ३.२ भन्दामाथि जिपिए ल्याउने पाँच, २.८९ भन्दा माथि ल्याउने ११, २.४५ भन्दा माथि ल्याउने ११ र अन्य केहीले कक्षा ११ मा पढ्न पाउने गरी नतिजा आएको विद्यालयले जनाएको छ । उक्त परीक्षामा ४४ विद्यार्थी सहभागी थिए ।
२०६८ मा एसएलसीमा एक जना सहभागी हुँदा पनि उर्तीण हुन नसक्दा विद्यालयलाई समस्या भएको थियो । अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न थालेसँगै विद्यार्थीको नतिजामा सुधार आएको सम्बद्ध शिक्षकको भनाइ थियो ।
प्रोजेक्टर प्रयोग गरी शिक्षण गराइने हुँदा विद्यार्थीलाई बुझाउन सहज भएको छ । विद्यालयले नयाँ–नयाँ प्रविधि प्रयोग गरी सिकाइ उपलब्धि बढाउन खोजको हो । कक्षा ९ र १० मा कम्प्युटर शिक्षा, राम्रो अक्षर लेखनजस्ता प्रयास हुँदै आएको छ । प्रत्येक शुक्रबार अतिरिक्त कार्यक्रम सञ्चालनले पनि विद्यार्थी यस विद्यालयप्रति थप आकर्षित बनेका हुन् ।
विपन्नलाई सहुलियत
उक्त विद्यालयले विपन्न समुदायका बालबालिकालाई निःशुल्क ट्युसन तथा कोचिङ कक्षाको व्यवस्था गरेको छ । आर्थिक रूपमा विपन्न समुदायका बालबालिकाले पैसाका कारण पढाइ बीचमा नरोकुन भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
हिन्दूदेखि मुस्लिमसम्मको रोजाइ
प्रायः पहाडी क्षेत्रका विद्यालयमा दलित समुदाय, जनजाति र क्षेत्री बाहुनले मात्र पढ्छन् । तर यो विद्यालयमा मधेशी, मुश्लिम समुदायका बालबालिकालाई पनि पढ्न सहज भएको छ । दलित ५२, जनजाति १२२, बाहुन ८०, क्षेत्री ३७, मधेशी आठ, मुसलमान सात गरी ३०७ विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
प्रगतिका लागि समस्या
पर्याप्त भवन र जग्गा अभावका कारण विद्यालय विस्तारमा समस्या हुँदै आएको छ । आधुनिक भवन बनाउन जग्गाका अभाव भएको विद्यालयले जनाएको छ । उक्त विद्यालयको अस्तित्व जोगाउन प्राविधिक शिक्षा सञ्चालन गर्ने योजनामा विद्यालय रहेको जिल्लामा आयुर्वेदकि शिक्षातर्फ कक्षा सञ्चालन गर्न सकिए विद्यार्थीको आकार्षण बढ्ने प्रअ थापाले बताए ।
रासस





















