रेशम चौधरीलाई सांसदको सपथ खुवाइयोस् : बाबुराम भट्टराई
वि.सं.२०७५ भदौ १० आइतवार २१:४४
shares

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले टिकापुर घटनाका मुख्य अभियुक्त करार भइ जेल सजाय भोगिरहेका रेशमलाल चौधरीलाई सांसदको सपथ खुवाउन सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले भने, ‘रेशमलाल चौधरीलाई सांसदको सपथ गराउने व्यवस्था सरकारले मिलाउनुपर्छ ।’
उनले द्धन्द्धकालमा पक्राउ परी अझै पनि जेल सजाय भोगिरहेका तत्कालिन माओवादीका कार्यकर्तालाई रिहा गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
अर्को प्रसंगमा भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई सरकारले पटक–पटक पक्राउ गरेकोप्रति असन्तुष्टि जनाए । अधिकार प्राप्तीका लागि आन्दोलन गर्न पाउने सबैको नैसर्गिक अधिकार हुने भन्दै भट्टराईले नेकपासहितका शक्तिसँग राजनीतिक व्यवहार गर्न सरकारलाई सुझाव दिए । ‘प्रकाण्डले लिएको बाटोमा हामी सहमत हुन नसके पनि उनीहरुको मुद्दालाई भने राज्यले बुझ्नैपर्छ,’ भट्टराईले भने ।





















