संसारभरका सेयर लगानीकर्ता भेडा
वि.सं.२०७५ भदौ १० आइतवार २०:५०
shares

सानो छँदा हाम्रा घरमा केही भेडा थिए । कहिलेकाहीँ भेडीगोठालाले लेकबाट भेडा चराउन औल (बेँसी) तर्फ ल्याउँदा सयौं भेडाका बथान हेर्ने मौका पनि मिल्थ्यो । जब मंसिरमा किसानले धान उठाइसक्थे, तव भेडीगोठाला लेकबाट औलतर्फ भेडा चराउन ल्याउँथे । साँझ भएपछि गोठालाले एउटा भेडो बाँध्थ्यो र सोही भेडाका वरिपरि सयौं भेडा बस्थे । खेतका धेरै गराहरु ढाकेर रातमा बसेका भेडा बिहान निकै उज्यालो हुन्जेलसम्म पनि बसिरहेका हुन्थे । खेतका धेरै गराहरु ढाकेर बसेका भेडा हेर्दा निकै आनन्द पनि आउँथ्यो ।
तिनै भेडाका बथानलाई देखाउँदै कहिलेकाहीँ बुवाले भन्ने गर्नु हुन्थ्यो– यो भेडाको जात अचम्मको हुन्छ । म प्रश्न गर्थें– कस्तो अचम्म ? अनि बुबा भन्नुहुन्थ्यो– यो एउटा भेडो भीरबाट हाम फाल्यो भने सबै भेडा पछि लागेर हाम फाल्छन् । एउटा भेडो डोर्याएर हिँड्यो भने सबै भेडा त्यसको पछि लाग्छन् । त्यही भएर रात परेपछि एउटा भेडो एक ठाउँमा बाँध्यो भने सबै भेडा वरिपरि आएर बस्छन्, अरुलाई बाँध्नै पर्दैन । यसले आफ्नो विवेक प्रयोग गर्दैन । यो एकोहोरो हुन्छ ।
भेडाको यही एकोहोरो व्यवहारलाई सेयर बजारमा लगानीकर्ताको लगानी व्यवहारसँग जोडेर प्रशस्तै प्रयोग गर्ने गरिन्छ । विशेषगरी, आफू विश्लेषण नगर्ने र अरुको पछि लागेर लगानी गर्ने सवालमा यसको प्रयोग हुने गर्छ । त्यसैले पनि नियामक निकायका व्यक्तिहरुले लगानीकर्तालाई भेडो प्रवृत्तिमा लगानी नगर्न भनेर सुझाव दिने गर्छन् ।
हालका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा मैले लेखेको ‘सेयरको प्राविधिक विश्लेषण’ किताबको विमोचनका लागि आग्रह गरेँ । यो करिब आठ वर्षअघिको कुरा हो । उहाँले मेरो निमन्त्रणा स्वीकार गरेर आइदिनु भो । नेप्सेका महाप्रबन्धकलगायत केही पत्रकारका बीचमा गरिएको उक्त विमोचनमा उहाँले राखेको छोटो विचारमा लगानीकर्तालाई भेडो प्रवृत्तिमा लगानी नगर्न सुझाव दिनुभएको म अझै सम्झन्छु ।
त्यसपछि उहाँ नेपाल राष्ट्र बैंकको गभर्नर हुँदै अहिले अर्थमन्त्री हुनुहुन्छ । यी हरेक पदमा रहेर सेयर बजारका बारेमा बोल्नुपर्दा लगानीकर्तालाई उहाँको सुझाव त्यही नै हुने गरेको देख्छु । उहाँले यी सुझाव दोहोर्याइरहँदा र नेप्सेमा सूचीकृत कम्पनीमा लगानी गर्ने लगानीकर्ताको व्यवहार हेर्दा लाग्थ्यो– के यसप्रकारको व्यवहार हाम्रो जस्तो आर्थिक रुपमा कमजोर र अविकसित तर भ्रष्टाचारमा विकसित देशमा मात्रै हो कि विकसित देशका लगानीकर्ताले पनि यस्तो प्रवृत्ति देखाउँछन् । संसारकै विकसित देशहरुमध्येको एक देशको सेयर बजारमा छिरेर नियामक र लगानीकर्ताको व्यवहार नियाल्ने मौका मैले पाएको छु । के विकसित देशका लगानीकर्ता साँच्चै विवेकपूर्ण ढंगले लगानी गर्दा रहेछन् त !
करिब एक वर्षअघि क्यानेडियन सरकारले औषधि र मनोरञ्जनका लागि गाँजाको उत्पादन र बिक्री–वितरण खुला गर्न कानुनी प्रक्रिया पूरा गर्ने निर्णय गर्यो । हुन त त्योभन्दा पहिलेदेखि नै सीमित कानुनी दायरामा विभिन्न कम्पनीले गाँजा उत्पादन गर्दै आएका पनि थिए । कृषिलगायत अन्य उत्पादन र उद्योगमा संलग्न कम्पनीले पनि व्यवसाय परिवर्तन गरेर गाँजाको व्यावसायिक उत्पादन र बिक्री–वितरणका लागि सरकारबाट अनुमति लिने क्रम बढ्दो थियो । यस्ता धेरै कम्पनीको सेयर यहाँका स्टक एक्सचेन्जमा १० पैसा (सेन्ट) भन्दा कममा कारोबार भइरहेका थिए । क्यानेडियन सरकारले यसलाइ पूर्णरुपमा वैधानिक बनाउने समाचारसँगै उत्पादन नै सुरु नगरेका तथा अनुपतिपत्रको पर्खाइमा बसेका कम्पनीको सेयर छोटो समयमा दशौँ गुनाले बढे ।
हिजो ५ पैसामा कारोबार भएको सेयरका लागि आज लगानीकर्ता २० पैसामा किन्न बस्थे । यहाँ नेपालमा जस्तो यतिसम्म बढाएर वा घटाएर किन्ने वा बेच्न पाउने वा दिनमा बढीमा यतिसम्म घट्न र बढ्न सक्छ भन्ने छैन । हिजो ५ पैसाको सेयर आज सय पैसामा पनि किन्न र बेच्न सकिन्छ ।
नेपालको जस्तो प्रत्येक कारोबारमा दुई प्रतिशतभन्दा बढीले मूल्य बढाउन वा घटाउन पाउने भन्ने जस्तो नियम यहाँ छैन । कम्पनीबाट महत्वपूर्ण सूचना आउने भए सूचना आउनुअघि नै कारोबार रोकिन्छ र सूचनालाई धेरै लगानीकर्तासम्म पुर्याउनका लागि सूचना आएको करिब एक घण्टापछि पुनः कारोबार सुरु गरिन्छ ।
यही वर्षको जनवरीतिर गाँजा उत्पादन गर्ने कतिपय कम्पनीको सेयर मूल्य सयौं गुणासम्म बढ्यो । ती दिन करोडौं कित्ता सेयर दैनिकजसो कारोबार हुने गर्थ्यो । मैले पनि धेरैवटा कम्पनीको सेयरमा दोब्बर-तेब्वर नाफा निकालेर बेचेको थिएँ ।
त्यस समयमा गाँजा कम्पनीको सेयरमा लगानी गर्न ब्रोकरकहाँ खाता खोल्ने लगानीकर्ता यति बढे, जसका कारण यहाँका ठूला भनिएका बैंकका ब्रोकरको सफ्टवेयरको क्षमता नपुगेर बारम्बार ह्याङ भए । जसले नेप्सेको सफ्टवेयरमा ह्याङ हुने कुरालाई कहिलेकाहीँ बिर्साउने गर्थ्यो । ब्रोकर कम्पनीले कारोबार सिस्टमको क्षमता बढाउन रातदिन काम गरेको सूचना बारम्बार कारोबार टर्मिनलमा आइरहन्थे । जसका कारण उनीहरुले लगानीकर्तासँग क्षमा माग्दै दिनभर धेरै सुविधाबाट वञ्चित गराएका थिए ।
तिनै दुई पैसाबाट सय पैसा पुगेका गाँजा कम्पनीका सेयर आज एक पैसामा झरेका छन । हिजो दसौं करोड कित्ता दैनिक कारोबार हुने सेयर आज १० हजार कित्ता पनि कारोबार भएको देखिँदैन । अझै पनि गाँजा उत्पादनको अनुमतिपत्र लिएका धेरै कम्पनीले उत्पादन र आम्दानी सिर्जना गर्न सुरु गरेका छैनन् ।
कम्पनीले उत्पादन अनुमति पत्र पायो भन्दामात्र पनि एकैदिन मूल्य दुई गुणाभन्दा धेरैले बढ्थ्यो । त्यस कम्पनीको ऋण, आम्दानी, नाफा-नोक्सान कति छ भन्ने लगानीकर्ताले केही पनि नहेरेको देखिन्थ्यो । अहिले तिनै कम्पनीको सेयर कारोबारको भोल्युम र मूल्य हेर्दा म सोच्ने गर्छु- ती लगानीकर्ता त्यतिखेर किन आए र अहिले कहाँ गए ? वास्तवमा, भीड र भेडो प्रवृत्ति भनेको यही होला । जुन अविकसित देशका लगानीकर्तामा मात्र नभई, विकसित देशका लगानीकर्तामा पनि उत्तिकै हुँदो रहेछ ।
हामीले जति प्रयास गरे पनि लगानीकर्ताको यसप्रकारको प्रवृत्ति हटाउन सक्दैनौं । जति अर्ति उपदेश दिए पनि त्यो प्रवृत्ति परिवर्तन हुन सक्दैन । तर, लगानीकर्ताको लगानी व्यवहार भेडाको जस्तो भयो भन्दैमा नियामक निकाय आफैंले भने भेडो प्रवृत्ति कदापि देखाउनु हुँदैन । बजारको विकास, लगानीको सुरक्षा, लगानीकर्ताको बजारप्रतिको विश्वास कायम गराउन नियामकले धेरै विवेक प्रयोग गर्नुपर्छ ।
हकप्रद र बोनस सेयरमा लाभकरसम्बन्धी अर्थ मन्त्रालयको निर्णय, सेयरको सेमिअनलाइन कारोबारको सुरुवातमा बोर्डको मुर्खता, सेयरको पुनः निष्कासनको मूल्य र अनुमति जस्ता धेरै विषयमा नियामकले विवेक होइन, भेडो प्रवृत्ति देखाएको महसुस हुन्छ, जुन परिवर्तन हुन आवश्यक छ र सम्भव पनि ।
(भट्टराई सेयर बजार विश्लेषक हुन्)
याे पनि पढ्नुहाेस् :
सेयर बजार चाउचाउ उत्पादन गर्ने कारखाना होइन, बजार घटेका बेला सेयर लगानी गर्ने हिम्मत राख्नुपर्छ
अर्थमन्त्रीज्यू ! नेप्सेको बन्ध्याकरण हैन, व्यवसायीकरण गर्नुहोस्
नेप्सेको रेखाले अर्को इतिहास रच्दैछ
मौद्रिक नीति : सेयर बजारलाई हरियो झण्डा
सेयर बजारमा छिर्ने उपयुक्त समय
बिक्री प्रबन्धकको गल्ती, कम्पनीको बेइज्जती
विदेशबाट सेयर किनबेच कसरी गर्ने ?





















