राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति कांग्रेसको आपत्ति
वि.सं.२०७५ साउन ३० बुधवार २३:०६
shares

नेपाली कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा प्रस्तावित ‘राष्ट्रिय चिकित्सा शिक्षा आयोग’को क्षेत्राधिकारप्रति आपत्ती जनाएको छ । संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि बुधबारबाट सुरु दफावार छलफलमा भाग लिएका कांग्रेस सांसदहरुले आयोगको क्षेत्रधिकारप्रति आपत्ती जनाएका हुन् । सांसदद्वय गगन थापा र दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाए ।
पूर्वस्वास्थ्यमन्त्री थापाले समग्र स्वास्थ्य क्षेत्रलाई समावेश हुनेगरी आयोगको क्षेत्राधिकार तोक्नुपर्ने माग गरे । विधेयकमा आयोगको क्षेत्राधिकार भित्र उच्च शिक्षा अन्तर्गतको स्वास्थ्य शिक्षा मात्रै समावेश गरिएको उल्लेख गर्दै उनले भने, ‘त्यसमा सहमत हुन नसकेपछि मैले आफूले संशोधन प्रस्ताव हाल्नु परेको हो ।’।
कांग्रेसका अर्का सांसद बडुले आयोगमा सदस्य मनोनीत गर्ने अधिकार अध्यक्षलाई दिन नहुने माग गरे । सदस्य मनोनयन आयोगको निर्णय अनुसार हुने व्यवस्था गर्न आफूले विधेयकमा संशोधन दर्ता गरेको उनको भनाइ छ ।
यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले भने राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको विधेयक भन्दै सरकारको बचाउ गरे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले विधेयकले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको दाबी गर्दै भने, ‘त्यसलाई खुला छलफल गरेर अघि बढाउन उपयुक्त हुन्छ ।’
नेपाल कम्युनिष्ट पार्टीकी अर्का सांसद रेखा शर्माले पनि विधेयकलाई खुला छलफल गरी टुंगो लगाउनुपर्नेमा जोड दिइन् । उनले सरकारी चिकित्सकहरुलाई निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था पनि विधेयकमा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीको मागअनुसार सरकारले अघि बढाएको विधेयकमा केदारभक्त माथेमा आयोगको भावनालाई पनि समेटनुपर्नेमा जोड दिए । बैठकमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमा व्यापक छलफल गरेर आवश्यक निर्णय लिन समितिलाई आग्रह गरे । समितिको अर्को बैठक आइतबार बिहान ८ बजेका लागि बोलाइएको छ ।

























