काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठ पर्वले समुदायबीचको भाइचारा र सद्भाव बलियो बनाएको छ : लालबाबु राउत

1.64K
shares

काठमाडौं । मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वले धार्मिक आस्था र विश्वाससँगै विभिन्न समुदायबीचको भाइचारा तथा सामाजिक सद्भाव बलियो बनाएको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले छठलाई तराई–मधेसको प्रमुख पर्वका रूपमा उल्लेख गर्दै यसले समुदायबीच आपसी प्रेम, सद्भाव र एकताको सन्देश दिने बताए । उनका अनुसार छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ । श्रद्धा र आस्थाका साथ मनाइने यो पर्वमा देशभित्र तथा विदेशमा रहेका परिवारका सदस्यसमेत घर फर्किने परम्परा रहेको उनले बताए ।

राउतले छठ पर्व कुनै एक समुदायमा मात्र सीमित नरहेको उल्लेख गर्दै तराई–मधेसका विभिन्न स्थानमा मुस्लिम समुदायका व्यक्तिले समेत छठ मनाउने गरेको बताए । आफ्नो बाल्यकालको स्मरण गर्दै उनले हजुरआमा हुँदापनि आफ्नै घरमा पनि छठ पर्व मनाउने गरिएको जानकारी दिए ।

‘म सानो हुँदा हाम्रो घरमा पनि छठको परम्परा थियो । हजुरआमाले छठ मनाउनुहुन्थ्यो । नदीको घाटमा बिहान र साँझ जाने गरेको सम्झना छ,’ उनले भने, ‘धेरै ठाउँमा मुस्लिम समुदायका व्यक्तिले पनि छठी मातालाई आराध्य देवका रूपमा पूजा गर्ने गरेको देखिन्छ ।’

उनले छठ पर्वमा प्रयोग हुने सामग्रीको सांस्कृतिक र कृषि महत्वसमेत रहेको बताए । उखु, नरिवल, ठेकुवा, सुथनीलगायतका सामग्री स्थानीय उत्पादन तथा खेतीपातीसँग जोडिएका छन् । मौसमी कृषि उपजलाई पूजा सामग्रीका रूपमा प्रयोग गर्दै सूर्यलाई अघ्र्य दिने परम्पराले प्रकृति र कृषिसँगको सम्बन्ध पनि देखाउने उनको भनाइ छ ।

राउतका अनुसार छठमा परिवारका सदस्यको सहभागिता, सामूहिक पूजा र घाटमा गरिने धार्मिक गतिविधिले सामाजिक सम्बन्धलाई थप बलियो बनाउँछ । त्यसैले यसलाई धार्मिक पर्वसँगै आपसी सद्भाव र भाइचाराको पर्वका रूपमा पनि लिनुपर्ने उनले बताए ।

आफ्नो परिवारमा विगतमा शाकाहारी परम्परा रहेको उल्लेख गर्दै उनले परिवारका सदस्यले विभिन्न धर्म र समुदायका पर्वलाई आ–आफ्नो धार्मिक परम्पराअनुसार मनाउने गरेको बताए । पछिल्लो समय भने केही परम्परामा सहभागिता घट्दै गएको उनको भनाइ छ ।

छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राउतले छठी माताले सबै नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि प्रेरणा प्रदान गरून् भन्ने कामना गरे । उनले मुलुकमा शान्ति कायम होस् र सबै नेपालीमा एकता तथा सद्भाव कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरे ।