गृहपृष्ठ बुद्धिमायालाई ९२ वर्षमा घरले दिलायो खुसी
बुद्धिमायालाई ९२ वर्षमा घरले दिलायो खुसी
जीर्ण घर । लौरोको सहारामा हिँड्ने ९२ वर्षीया वृद्धा आमा । उनी ५७ वर्षीया अपांग छोरी । सम्पत्तिका नाममा पोखरा महानगरपालिका–१९,याम्दिपुलपारिको झाडीमा दुई आना जग्गा । न पानीको सुविधा, न बिजुली बत्ती न त यातायात नै । महानगरपालिकाभित्रको यो दुर्गम ठाउँमा दुखजिलो गरी बस्दै आएका यी आमाछोरीको जीवनमा नयाँ घरले खुसी ल्याइदिएको छ ।
केही अभियन्ताको सहयोगमा नयाँ घर पाएपछि आमा बुद्धिमाया विक र छोरी मसिनी दंग देखिएका छन् । याम्दिपुलपारि विदेशी तथा स्वदेशी विभिन्न दाता तथा संघ–संस्थाको सहयोगमा निर्माण गरेको घर बुधबार उनीहरुलाई हस्तान्तरण गरिएको छ ।
विक परिवारलाई ताइवानी नागरिक बिबी, पोखरा–१९ का वडासदस्य कृष्णप्रसाद गौतम, अभियन्ता सरु सुनुवार र किशोर सुनुवारले दुई कोठे पक्की घर हस्तान्तरण गरेका हुन् । जस्ताले छाएको पक्की दुई कोठे घर निर्माण गर्न ६ लाख ८० हजार खर्च लागेको अभियन्ता एवं सञ्चारकर्मी सरु सुनुवारले जानकारी दिइन् ।
अभियान सफल पार्न ताइवानी नागरिक बिबीले ४८ जना ताइवानी नागरिकबाट पाँच लाख ३० हजार रुपैयाँ संकलन गरेकी थिइन् । त्यस्तै, वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ पोखराबाट ८० हजार सहयोग भएको संघका पूर्वसचिव जगतमोहन गिरीले जानकारी दिए । हर्ककुमार राईले हङकङबाट ३२ हजार, डिलमाया गुरुङले ३१ हजार ५ सय १५ र अन्य दाताबाट संकलित रकमबाट घर निर्माण गरिएको हो ।
घर निर्माण भइरहँदा आमाछोरीलाई तीन महिना भाडामा बस्ने व्यवस्था मिलाइएको थियो । नयाँ घर अपांगमैत्री नहुँदा भने समस्या हुने भएको छ । जग्गा दुई आनामात्र र नमिलेको भएकाले अपांगमैत्री बनाउन नसकिएको अभियन्ताले बताएका छन् । यातायात र पानीको मुख्य समस्या रहेकाले घर बनाउँदा ज्यालामा बढी खर्च भएको समाजसेवी शान्त शर्माले बताए । घरको चाबी बुझ्दै वृद्धा बुद्धिमायाले घर निर्माण कार्यमा जुट्ने सबैलाई धन्यवाद दिइन् । उनका एकजना छोरा पनि छन् । तर, छोरो आफ्नै परिवार धान्नका लागि जैमुरेमा अर्काको घरमा भेडाबाख्रा चराउने गरेको बुद्धिमायाले बताइन् ।
बिककी छोरी चार खुट्टाले हिँड्छिन भने राम्रोसँग बोल्नसमेत जान्दिनन् । वडासदस्य गौतमले घर निर्माणबारे पहिल्यै थाहा भएको भए थप सहयोग गर्न सकिने बताए । संघका नारायण पोखरेलले सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी गराए ।
प्रकाशित समय : ०२:०१ बजे



















