global ime bank Long Banner Ad

गृहपृष्ठ बिमस्टेकका लागि उच्च सुरक्षा सतर्कता

बिमस्टेकका लागि उच्च सुरक्षा सतर्कता

बिमस्टेकका लागि उच्च सुरक्षा सतर्कता

 

काठमाडौंमा बिहीबार र शुक्रबार हुने बिमस्टेकको शिखर सम्मेलनलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मलेनमा सहभागी हुने भिभिआईपी पाहुनाहरुलाई लक्षित गरेर विषेश सुरक्षा रणनीति अपनाईएको हो । सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा ४ वटै सुरक्षा निकाय परिचालित भइसकेका छन् ।

सम्मेलनको सुरक्षाका लागि १८ हजार बढी सुरक्षाकर्मी खटिने गृह मन्त्रालयका उपसचिव एकराज अधिकारीले जानकारी दिए । नेपाली सेनाबाट ५ हजार, जनपथ प्रहरीबाट ९ हजार ७ सय खटिनेछन् । सशस्त्र प्रहरीबाट २ हजार ५ सय र राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार प्रहरी खटिने जनाइएको छ । भित्री तहमा नेपाली सेना खटिने र मध्यमा नेपाल प्रहरी र बाहिरी भागमा सशस्त्र प्रहरी रहने गृह मन्त्रालयका उपसचिव अधिकारीले बताए । त्यससँगै राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि रहने बताइएको छ । भारत, म्यानमार, बंगलादेश र श्रीलंकाका सुरक्षा अधिकारीहरु काठमाडौं आइपुगेका छन् । उनीहहरुले नेपाली सेनासँग सहकार्य गरिरहेका छन् ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भिभिआइपिको सुुरक्षाको लागि अत्यावस्यक सडक यातायातदेखि हवाईसम्मका सेवा अवरुद्ध पारिने छ । बिहीबार र शुक्रबार विभिन्न सेवा अवरुद्ध हुने हुँदा उपत्यकाबासीले अफ्ठेरो हुने भएको छ । जोडी–विजोडी सवारी साधन सञ्चालन गर्ने, सडकको पेटीमा बस्न नदिने, सडक पूरै खाली गराउने जस्ता कार्य हुने भएपछि सर्वसाधारणलाई असहजता हुने देखिन्छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पटक–पटक बन्द गर्ने तयारीले समेत धेरै प्रभावित हुनेछन् । कोटेश्वरबाट खुलामञ्च पुग्ने सवारीलाई कोटेश्वरबाट सातदोबाटो पठाएर कलंकी, त्रिपुरेश्वर हुदै आधा बढी रिङरोड घुमाएरमात्र खुल्लामञ्च लैजाने तयारी छ । यसबाट सार्वजनकि सवारीमा यात्रा गर्नेहरुले निक्कै कष्ट भोग्नुपर्ने बटुवाहरुले आकलन गरिसकेका छन् ।

मंगलबार म्यानमारका राष्ट्रपति र अरु देशका उच्च अधिकारी नेपाल आउने क्रममानै काठमाडौबासीले निक्कै हैरानी खेप्नुपर्याे । कोटेश्वर कलंकीलगायत धेरै रुटका सवारी नचल्दा कतिपयले बैकल्पिक मार्ग रोज्नुपर्याे भने कतिपयलाई हिड्नुपर्दा निक्कै सास्ति पाएको देखियो । भिभिआइपिको सुरक्षाको नाममा सर्वसाधारणलाई सास्ती दिइएको भन्दै कतिपयले आक्रोश पाखे । यसअघि तीन पटक भएको सार्क शिखर सम्मेलनमा यत्तिको कडाई नभएको तर अहिले अनावश्यक दुःख दिन कडाई भएको सर्वसाधारण बताउछन् । वितगतमा सार्क सम्मेलनमा सार्क राष्ट्रका प्रमुखहरू आउँदा सडकको एकातिर बसेका नेपाली जनताले हात हल्लाई पाहुनाहरूको स्वागत गरेका थिए । यसअघि भारतीय प्रधानमन्त्री, वा अरु भिभिआइपी नेपाल आउदा पनि सर्वसाधारणले हात हल्लाउदै स्वागत गरेका थिए । यसपालि त्यो अवसर सर्वसाधारण नागरिकले पाउने छैनन् ।

प्रकाशित समय : ०२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु