गृहपृष्ठ महासंघ अध्यक्षमा देउजाको उम्मेदवारी
महासंघ अध्यक्षमा देउजाको उम्मेदवारी
नेपाल निर्माण व्यवसायी महासंघको आगामी असोज ४, ५ र ६ गते हुने २०औं साधारणसभा एवं ११ औं महाधिवेशनमा महासंघका वर्तमान महासचिव रामशरण देउजाले अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
बिहीबार निर्माण व्यवसायी संघ भक्तपुरले आयोजना गरेको कार्यक्रममा देउजाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । महासचिव देउजाले ‘अहिलेको आवश्यकता युवाको सामूहिक नेतृत्व र ऐक्यबद्धता, अग्रजको सम्मान र व्यावसायिक अनेकताभित्रको एकता, विकेन्द्रीकरण र अवसरको सुनिश्चितता यही हो मेरो प्रतिबद्धता’ भन्ने नाराका साथ निर्वाचनमा उम्मेदवारका रुपमा उभिएको उनले बताए ।
उनले मुलुक समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समृद्धिको प्रमुख आधारका रुपमा रहेका निर्माण व्यवसायीको छाता संस्था निर्माण व्यवसायी महासंघलाई अहिले सर्वसम्मत नेतृत्वको आवश्यकता रहेको बताउँदै देउजाले यदि सर्वसम्मत नेतृत्व चयन हुन सक्ने अवस्थामा भने आफू सहमतिको बाधक नबन्ने प्रष्ट पारे ।
भेलामा महासंघका पूर्वकेन्द्रीय सदस्य तथा भक्तपुर संघका सल्लाहकार वीरेन्द्र थापाले महासंघको महाधिवेशनमा प्रदेश नं ३ को तर्फबाट उपाध्यक्ष बन्ने घोषणा गरेका छन् । रासस ।
प्रकाशित समय : ०१:१७ बजे



















