बेलकाका सबै वडामा विद्युत विस्तार हुने, ऊर्जामन्त्रीले दिए तोक आदेश
वि.सं.२०७५ भदौ ५ मंगलवार १८:०२
shares

बेलका नगरपालिकाअन्तर्गत बबला र मैनामैनीमा पनि चाँडै विजुली पुग्ने भएको छ । कुल १४ करोड रुपैयाँ लागतमा बबला–मैनामैनी विद्युतीकरण अगाडि बढ्ने भएसँगै अहिलेसम्म विद्युतको पहुँचबाहिर रहेका मैनामैनी र बबलाबासीले विजुली बाल्न पाउने भएका हुन् । बेलकाका ६ र ७ नम्बर वडामा सामुदायिक ग्रामिण विद्युतीकरणअन्तर्गत विद्युत विस्तार गर्न आवश्यक प्रक्रिया अघि बढाइदिन भन्दै नगरपालिकाले पठाएको पत्रलाई ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री वर्षमान पुन ‘अनन्त’ले तोक लगाइदिएका पहलकर्ता रमण भट्टराईले जानकारी दिए । मन्त्रीको तोक आदेशसँगै अब साबिकको मैनामैनी र बबला गाविस छिट्टै विद्युतको पहुँचमा पुग्ने भट्टराईले बताए । ‘लामो पहलपछि सरकारले हाम्रो कुरा सुनेको छ,’ भट्टराईले भने, ‘अहिलेसम्म अन्धकार रहेका दुई वडा पनि अब झिलिमिली हुनेछन् ।’
नगरपालिकाको ३, ४, ५, ८, ९ मा भने यसअघि नै सामुदायिक ग्रामिण विद्युतीकरणअन्तर्गत विद्युत विस्तार गरिएको छ । तर, ६ र ७ नम्बर वडा भने अहिलेसम्म अन्धकार नै छन् ।
०६९ श्रावण ९ गते ठोक्सीला कृषि तथा ग्रामिण विकास केन्द्रको अग्रसरतामा तत्कालिन ठोक्सीला गाविसको ९ नम्बर वडामा पहिलो पटक विजुली बालिएको थियो । सोही कार्यक्रमलाई ३, ४, ५, ८ र ९ मा विस्तार गरिएको हो ।
०६९ मा पहिलो पटक विजुली
ठोक्सीला कृषि तथा ग्रामीण विकास केन्द्रले विद्युतीय कार्यक्रमको लागि २२ मंसिर २०६३ मा स्वीकृति पाएको थियो । उक्त परियोजनाको कुल लागत २ करोड १५ लाख ९५ हजार ८ सय ८५ थियो भने २० प्रतिशत लागत ठोक्सिला कृषि तथा ग्रामीण विकास केन्द्रको थियो । ०६३ सालमा त्रिवर्षीय योजनाका रुपमा स्वीकृति पाए पनि २०६६ साल देखिमात्र काम शुरु गरिएको थियो । परियोजनाको ठेक्का प्रमोद महासेठले लिएका थिए ।
झण्डै ६ वर्ष उक्त ग्रामीण विद्युत कार्यक्रम प्रभावकारी ढंगले अघि बढ्न सकेन । तीन वर्षे योजना ६ वर्ष भइसक्दा पनि अघि नबढेपछि तत्कालिन ठोक्सीलाका युवाहरुले ०६८ मंसिर १६ गत साझा सवाल कार्यक्रम गरेर दबाब दिएका थिए । तत्कालिन सामाजिक एकीकृत युवा समूहले सञ्चाल्ऽन गरेको उक्त साझा सवालमा ठोक्सिला कृषि तथा ग्रामीण विकास केन्द्रका अध्यक्ष धनपति आचार्यले ०६८ फागुनभित्रै विजुली बाल्ने दाबी गरे पनि विजुली नबालेपछि आक्रोशित स्थानीय युवाले सर्वदलीय भेला डाकी विजुली बाल्ने कार्यक्रममा ढिलासुस्ती भए ०६९ दशैंसम्ममा आम ठोक्सिलाबासीको साथ लिएर उक्त कार्य समिति विघटन गरि नेपाल विद्युत प्राधिकरणलाई जिम्मा दिने चेतावनी दिएका थिए । अध्यक्षबाट काम नभएपछि युवाहरुले संस्थाका सचिव रमण भट्टराईको ध्यानाकर्षण गराए । त्यसपछि बल्ल विजुली बलेको थियो । हाल ठोक्सीलासहित अन्य तीन गाविस मिलाएर बेलका नगरपालिका बनाइएको छ । साबिको मैनामैनी र बबला गाविसमा विजुली बाल्न अहिले उनै भट्टराई ऊर्जा मन्त्रालय धाउँदै आएका छन् । ‘बाँकी वडामा विद्युत विस्तार गर्ने प्रक्रिया सुरु भयो,’ उनले भने ।

























