global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय झण्डाको दुरुपयोग रोक

राष्ट्रिय झण्डाको दुरुपयोग रोक

राष्ट्रिय झण्डाको दुरुपयोग रोक

कानुनतः राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग कोही कसैले पनि गर्न पाउँदैन । तर, देशको शान र पहिचानका रुपमा रहेको नेपालको राष्ट्रिय झण्डाको रक्सी उत्पादक कम्पनी राज ब्रुअरीले दुरुपयोग गरिरहेको छ । राष्ट्रिय चिह्न वा निशानीहरुको प्रयोग कहाँ र कसले गर्ने र गर्न पाउने भन्नेबारे कानुनमै प्रस्ट व्यवस्था भए पनि प्रतिष्ठित उद्योगी राजबहादुर शाहको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको रक्सी कम्पनी राज ब्रुअरीले नमस्ते ब्रान्डको रक्सीमा राष्ट्रिय झण्डालाई तोडमोड गरी दुरुपयोग गरेको हो ।

विभिन्न क्षेत्रबाट राष्ट्रिय झण्डाको दुरुपयोग बढेपछि सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ नै बनाएर २०६९ जेठ २२ गतेदेखि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्य गर्न निषेध गरिएको छ । निषेध गरिएका कार्यमध्ये ३ (घ) बुँदामा व्यापारिक प्रयोजनका लागि र विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने उल्लेख छ ।

भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले पनि राष्ट्रिय झण्डाको अपमानमाथि वर्जित गरेको छ । राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने कार्यलाई अपराध संहिताले गैरकानुनी भनेको छ । संहितामा यस्तो काम गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

तर, राज ब्रुअरीले कसको आडमा र कसरी राष्ट्रिय झण्डाको दुरुपयोग गरिरहेको छ । उद्योग विभागसँग लिखित सूचना माग्दा पर्याप्त सूचना दिन आनाकानी भइरहेको छ । दुई साताअघि नै राष्ट्रिय झण्डाको दुरुपयोगबारे बुझ्ने र गलत गरेको भए कारबाही प्रक्रिया अघि बढाउने बताएको उद्योग विभाग यतिखेर सूचना दिनसमेत किन आनाकानी गर्दै छ ?

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले पनि कार्यविधिविपरीत राष्ट्रिय झण्डा दुरुपयोग गर्नु अपराध भएको र त्यस्तो अपराध गर्नेलाई सरकारले कानुनअनुसार कारबाही गर्ने बताएका थिए । तर, गृह मन्त्रालयले अहिलेसम्म घटनाको अध्ययन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छैन । राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधिको परिच्छेद ४ ले राष्ट्रिय झण्डाको दुरुपयोग भए÷नभएको अनुगमन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । तर, सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमेत यस प्रकरणमा मौन देखिएका छन् ।

अर्कोतर्फ राष्ट्रिय सम्पत्ति प्रयोगको अधिकार कानुनले निर्दिष्ट गरेअनुसार मात्रै हुनसक्छ । राज ब्रुअरीले कानुन उल्लंघन गरेर गम्भीर गल्ती गरेको छ । तर, एउटा प्रतिष्ठित उद्योगी मालिक रहेको रक्सी कम्पनीले सञ्चारमाध्यममार्फत पटक–पटक प्रश्न उठ्दा पनि राष्ट्रिय झण्डाको निशानी प्रयोग गरेको विषयमा प्रस्ट पार्नुपर्ने आवश्यकता महसुस गरेको छैन ।

राष्ट्रिय चिह्नहरुमध्ये पनि राष्ट्रिय झण्डा बढी संवेदनशील र महत्वपूर्ण राष्ट्रिय सम्पत्ति हो । तर, यस्तो संवेदनशील निशानीको उद्योगी–व्यापारीले मनपरी प्रयोग गर्दासमेत सम्बन्धित सबै निकाय मौन देखिएका छन् । देशकै इज्जतमाथि खेलवाड भइरहँदा सरकारले कानुनअनुसार कारबाही प्रक्रिया अगाडि नबढाउँदा संशय बढेको छ । कानुन कार्यान्वयनमा सरकारी उदासीनताले सरकारी अधिकारीमाथि नै औंला ठड्याउनुपर्ने अवस्था सिर्जना गरेको छ । कतै, कानुनको यसप्रकारको उल्लंघनमा सरकारी पक्षकै संलग्नता त छैन ?

प्रकाशित समय : ०२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु