global ime bank Long Banner Ad

गृहपृष्ठ ‘प्रेम प्रतिसोधमा बदलिएपछि एसिड’

‘प्रेम प्रतिसोधमा बदलिएपछि एसिड’

‘प्रेम प्रतिसोधमा बदलिएपछि एसिड’

२०७१ फागुन १० गते 

काठमाडौंको वसन्तपुरमा जीवन विकद्वारा संगीता मगर र सीमा वस्नेतमाथी एसिड प्रहार ।

२०७२ फागुन २८ 

दाङ घोराही ३२ वर्षीया रिता चौधरीमाथि अज्ञात व्यक्तिद्वारा एसिड प्रहार ।

२०७३ माघ २४ गते

धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाद्वारा नवलपरासी गैंडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटामाथि एसिड प्रहार ।

२०७४ असार ४ गते  

काठमाडौं गोकर्णेश्वर ६ जोरपाटीका साहित्यकार पुन्यप्रसाद प्रसाईमाथि कान्ति बाल अस्पतालका चिकित्सक सुदीप रञ्जित र उनका भाइ निरज रञ्जितद्वारा एसिड प्रहार ।

२०७४ असार ११ गते

महोत्तरी गौशालाका ६५ बर्षिय शीतलदेवी महतोमाथी अज्ञात व्यक्तिद्धारा एसिड प्रहार ।

२०७५ बैशाख ८ गते

ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँद्वारा कल्पना श्रेष्ठमाथि एसिड प्रहार ।

२०७५ बैशाख २६ गते

चितवनको भरतपुरका सुजितकुमार विश्वकमाद्वारा ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार ।

२०७५ भदौ २६ गते 

रौतहट चन्द्रपुर की १८ वर्षीया सम्झना दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता दासलाई छिमेकी रामबाबु पासवानद्वारा एसिड प्रहार ।

२०७५ असोज २ गते

अछामको तुर्माखादमा ६ महिनाका बालक मुस्कान बयकलाई अज्ञात व्यक्तिद्वारा एसिड प्रहार ।

२०७५ असोज ८ गते 

नवलपरासी कावासोतीमा २० वर्षीया बसन्ती परियारलाई ३७ वर्षीय विमल श्रीपालीद्वारा एसिड प्रहार ।

यी घटनाहरु मध्ये अधिकांश एसिड आक्रमण प्रेम प्रतिशोधमा बदिलिएपछि भएका देखिन्छ । प्रेम प्रस्ताव अस्विकार गर्दा, विवाह गर्न नमान्दा असमझदारी बढेपछि प्रेमीले प्रेमिकामाथि एसिड आक्रमण गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानले देखाउँछ ।  एसिड प्रहारका घटनामध्ये २०७१ फागुनको घटना निक्कै चर्चित बन्यो । राजधानीको मुटु वसन्तपुरमा ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्विकार गर्दा जीवन विकले संगीता मगरलाई एसिड प्रहार गरेका थिए । सो आक्रमणको सिकारसँगै बेन्चमा बसेकी सीमा वस्नेत समेत परेकी थिइन् ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलागिरहेको अवस्थामा किशोरीमाथी एकपछि अर्को एसिड आक्रमणको घटना भइरहेको छ ।पछिल्लो पटक भदौ २६ गते रौतहटमा २ किशोरीमाथी एसिड आक्रमण भयो । छिमेकी रामबाबु पासवानले गरेको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनले प्रहार गरेको एसिड आक्रमणले सम्झना दासकाे उपचारको क्रममा मृत्यु भयो ।

गएको ७ मिहनाामा मात्रै काठमाडौंको कीर्तिपुर अस्पतालमा ७ जना एसिडको पोलाइमा परेर उपचार गर्न आएका छन् । त्यसमध्ये ३ महिला र एक पुरुष रहेका छन् ।  ४ जनालाई कसैले प्रतिशोधपूर्वक आक्रमण गरेका थिए । बाँकी ३ जना आफ्नै गल्तीले एसिडको सिकार भएको पाइएको छ ।

किन एसिड अक्रमण गर्छन् ?

एसिड आक्रमण नेपालमा मात्र हैन अन्य देशहरुमा पनि हुने गरेको पाइएको छ । अधिकांश एसिड आक्रमण महिला तथा किशोरी लक्षित भएका छन् । बंगलादेश सबैभन्दा बढी एसिड आतंकले ग्रस्त मुलुक हो । भारत र कम्बोडिया दोस्रो अनि तेस्रो नम्बरमा पर्छ । दक्षिण एसियाली अनि मध्यपूर्वी देशहरूमा सामाजिक अधिकार र आर्थिक पहुँचको दृष्टिकोणले महिलाहरू पछि पर्ने भएकाले हिंसाको सिकार बन्ने गरेको जानकारहरु बताउछन् ।

यस्तो अवस्थामा महिलामाथि हुने गरेको यातनाको हतियारको रूपमा एसिड नै प्रयोग भएको देखिएको मानसिक रोग विशेषज्ञ डा. अजय रिसाल बताउछन् । ‘विवाह, प्रेम, सेक्स प्रस्ताव अस्वीकार, दाइजो, सामान्य झगडा लगातमा प्रतिशोध साध्न महिलाको अनुहार नै बिगार्ने उद्देश्यले एसिड आक्रमण हने गरेको छ ।’ डा. रिसालले भने, ‘यो अपराधिक मानसिकता हो ।’

कस्ता एसिड प्रयोग हुन्छन् ?

मोटरसाइकल वा अरु विद्युतीय सामाग्री मर्मतमा प्रयोग हुने सल्फरिक एसिड धेरै जसो अक्रमणकारीले प्रयोग गर्ने गरेको पाइएको छ । सुनका गर गहना सफा गर्न प्रयोग गरिने नाइट्रिक या हाइड्रोक्लोरिक एसिडको प्रयोग गर्ने गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

आक्रमणकारीको रोजाइमा एसिड नै किन ?

एसिड एक किसिमको तरल पदार्थ हो । यो शरीरमा परेमा छाला आगोले पोलेको जस्तैगरी बिग्रन्छ । जुन कहिल्यै पहिलेको स्वरुपमा ल्याउन निकै कठिन हुन्छ । आँखा नदेखने, शरीर लुलो हुने, दाग देखिने भएकाले अपराधिले प्रतिसोध साध्न एसिड रोज्ने गरेको पाइएको छ ।

कमजाेर कानुनले आक्रमण बढ्योे : प्रहरी

एसिड आक्रमण बढेपछि बंगलादेश सरकारले आक्रमणकारीलाई आजीवन कारावासको सजाय हुने कानुन ल्याएको छ । एसिड सजिलैसँग किन्न नपाउने व्यवस्था गरिएको छ । तर, नेपालमा एसिड बिक्री वितरण सहज हुने भएकाले अपराधिले प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा पनि बंगलादेशको जस्तै नीति ल्याउनुपर्ने विज्ञहरु बताउँछन् । बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढेकाले यसको बिक्री वितरणमा कडाइ गर्न कानुनको आवश्यकता भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताए । ‘कमजोर कानुन, जनचेतनाको अभाव र एसिड सजिलै पाइने भएकाले अपराध बढिरहेको छ ।’ उनेले भने ।

नेपालमा कारबाहीको कस्तो व्यवस्था छ ?

नेपालमा एसिड आक्रमण निरुत्साहित गर्न कानुन बनाइएको छ । तर, नयाँ मुलुकी संहितामा एसिड प्रहारलाई गम्भिर अपराधाको रुपमा लिइएको छ । अनुहार कुरुप पारे ५ बर्ष देखि ८ बर्ष कैदको सजाया हुने उल्लेख छ । १ देखि ५ लाखसम्म जरीवाना समेत व्यवस्था गरिएको छ । त्यस्तै शरीरको अन्य भाग कुरुप बनाए वा शरीरमा पीडा गराएमा ३ देखि ५ बर्षसम्म कैद र ५० हजार देखि ३ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु