गृहपृष्ठ सेयर बजार ११३ अंकले बढ्यो
सेयर बजार ११३ अंकले बढ्यो
सेयर बजार परिसूचक नेप्से ११३ अंकले बढेको छ । साउन २७ गतेको न्यूनतम विन्दु ११६३.९४ बाट बढ्न थालेको नेप्से बुधबारसम्ममा ११३.८ अंकले उकालो लागेर १२७७.७४ अंकमा पुगेको हो ।
दुई वर्षदेखि ओरालो झरेर केही समयमा स्थिर जस्तै बनेको नेप्से साउन २८ गतेदेखि बढ्न थालेको हो । सेयरको न्यूनतम विन्दुको पर्खाइमा रहेका लगानीकर्ता विस्तारै बजार प्रवेश गर्न थालेपछि नेप्सेले सकारात्मक दिशा पक्डिएको छ ।
बजारमा सेयरको माग बढ्न थालेपछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । दैनिक कारोबार १४ करोडसम्म झरेको बजारमा यतिखेर एक अर्बको हाराहारीमा सेयर कारोबार हुन थालेको छ । मंगलबार १ अर्ब १२ करोडको कारोबार भयो भने आज (बुधबार) पनि ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै सेयरको माग बढेपछि कम्पनीहरुको मूल्य उकालो लाग्दै गएको छ । कम्पनीहरुको मूल्य बढ्दै जाँदा १३ खर्बनजिक रहेको कुल बजार पुँजीकरण पनि बढेर १५ खर्ब २१ अर्ब पुगेको छ ।
बुधबार सामान्य घट्यो
बुधबार (असोज १० गते) भने सेयर बजार परिसूचक २.३१ अंकले घट्यो । बुधबार अन्य र जीवन बिमा समूह बढे पनि अरु सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक २.३१ अंकले घटेर १२७७.७४ अंकमा झरेको हो ।

घटेको बजारमा पनि समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंक ७ प्रतिशत, भार्गव विकास बैंक ५.५९ प्रतिशत बढेको छ ।
बुधबार कुमारी बैंक र एनएमबी बैंकको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक र सिभिल बैंकको करिब पाँच करोडबराबरको सेयर किनबेच भयो । प्रभु बैंकको साढे ४ करोड रुपैयाँको सेयर कारोबार भयो ।
प्रकाशित समय : २२:०३ बजे


















